पनौतीलाई नमूना नगरपालिका बनाउने उम्मेदवार श्रेष्ठको योजना

२४ वैशाख, २०७४

पनौती – काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिकामा नयाँ शक्ति र संघीय समाजवादी फोरमले संयुक्त रुपमा समाजसेवी लक्ष्मण श्रेष्ठलाई प्रमुखको उम्मेदवार बनाएको छ । नगर प्रमुखका दाबेदार श्रेष्ठले पनौती नगर र नगरवासीको विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताए ।

उनले आफूले जितेको खण्डमा पनौती नगरपालिकाको विकासका लागि थुप्रै काम गर्ने योजना अगाडि सारेका छन् । उनले पनौती वडा नं. ७ स्थित पुरात्वात्तिक महत्वको प्राचीन मन्दिर परिसरलाई विश्वसम्पदा सूचीमा पार्न कुनै पनि कसुर बाँकी नराख्ने बताएका छन् । त्यसैगरी पनौती बसपार्कलाई अत्याधुनिक बनाउने, सुविधासम्पन्न रंगशाला बनाई खेलकुदको विकास गर्ने, अहिले संचालन भैरहेको एकीकृत खानेपानीको आयोजनालाई पनौती नगरवासीको प्रत्येक घरमा पु¥याउनेलगायतका योजनाहरु अगाडि सारेका छन् ।

त्यस्तै पनौती नगरपालिकालाई कृषि क्षेत्र र आवासीय क्षेत्रमा विभाजन गरेर व्यवस्थित र नमूना नगरपालिका बनाउने उनको योजना छ । ढल निकासासहितको नगरका सबै क्षेत्रमा कालोपत्रे सडक बनाइने, फोहोर व्यवस्थापनका लागि युरोपियन युनियनसँग भएको सहमतिको प्रोजक्टलाई तत्काल अगाडि बडाउने, कुशादेवी क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गर्ने, पलाती भूमिडाँडाको खानीक्षेत्रको कर जिविसबाट स्थानीय तहमा ल्याई करको दायरा फराकिलो बनाउने लगायतका विकासका योजना अगाडि सारेको श्रेष्ठले जानकारी गराएका छन् ।

नेपालको समृद्धिका लागि कृषि उत्पादको ठूलो भूमिका भएकाले यस नगरपालिकामा सुन्तला, आलु र धानवालीलाई आधुनिक प्रविधिको प्रयोगसहित व्यवासायिकरण गर्ने, पर्यटकीय क्षेत्रको विकास गर्ने लगायतको थुप्रै काम गर्ने योजना रहेको श्रेष्ठ बताउँछन् ।