नयाँ शक्तिका ललितपुर नगरप्रमुख उम्मेदवारहरुको विकासका योजना

२५ वैशाख, २०७४

ललितपुर – वैशाख ३१ गतेको पहिलो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिंदै गर्दा राजनीतिक दलहरुले प्रचारप्रचार तीव्र बनाएका छन् ।

यसै क्रममा संयुक्त गठबन्धन बनाएर चुनावी दौडमा होमिएको नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले संयुक्त संयन्त्र बनाएर चुनावी प्रचार गरिरहेका छन् । प्रचारकै क्रममा ललितपुरको महालक्ष्मी र गोदावरी नगरपालिकामा प्रचार तीव्र बनाएका त्यहाँका नगर प्रमुखका उम्मेदवारहरुले स्थानीय विकासका योजनाहरु सार्वजनिक गरेका छन् । दुई नगरपालिकाका मेयर पदका उम्मेदवारहरुको नगर विकासका योजना यस्तो छ

जनक थापा – मेयर उम्मेदवार, महालक्ष्मी नगरपालिका

ललितपुर जिल्ला स्रोत र साधनले निकै धनी भएर पनि यस क्षेत्रको उचित विकास हुन सकेको छैन । यस जिल्लामा निकै विकट र निकै विकास भएको ठाउँ पनि छ । यसो हुनुको मुख्य कारण पुराना दलहरूले यस ठाउँको विकासमा भन्दा आफ्नै व्यवस्थापनलाई ध्यान दिएर हो । राजनीतिलाई सेवा बनाउनु पर्नेमा पेशा र ठगी खाने भाँडो बनाएर हो । हामीले चुनाव जितेमा त्यसो हुन दिदैनौँ । यो नगरको समानुपातिक विकास गर्ने गरी हामीले योजना बनाएका छौँ ।

आगामी ५ वर्षभित्रमा प्रत्येक घरमा सफा खानेपानीको ग्यारेण्टी गछौँ । यस नगरको वैज्ञानिक तरिकाले विकास गर्न विज्ञ र प्राविधिकहरूसँग परापर्श गरेर गुरु योजना बनाउछौँ र भू–उपयोगको नीति बनाएर लागू गछौँ । सडक दुर्घटना रोक्न र सुरक्षाका लागि सयमिटरको अन्तरमा सडक वत्ती र व्यवस्थित ट्राफिकिङको योजना पनि बनाएका छौँ । सबै क्षेत्रमा ढल निकासा सहितको पीच सडकको व्यवस्था पनि गछौँ । समृद्ध र नमूना नगरपालिका निर्माण हाम्रो मुख्य एजेण्डा हो ।

विनोद महर्जन – मेयर उम्मेदवार, गोदावरी नगरपालिका

गोदावरी नगरपालिका आफैँमा पर्यटकीय क्षेत्र भएकाले यसलाई प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटनको संगम बनाउने योजना हामीले बनाएका छौँ । स्वच्छ खानेपानी व्यवस्थापनका लागि नगरका वडास्तरीय रिजर्भ ट्याङ्कीको पर्याप्त व्यवस्था गर्छौं । पक्की सडक सञ्जाललाई वडा र बस्तीसम्म पु¥याउँछाँै । नगर अस्पताललाई अत्याधुनिक, विशेषज्ञ सेवासहितको व्यवस्थापन गरी स्वास्थ्य सेवालाई सहज बनाउँदै प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापन गर्छौं ।

समृद्धिका लागि शिक्षा महत्वपूर्ण विषय भएकाले सामुदायिक शिक्षाको सुदृढीकरण गरेर प्राविधिक तथा व्यावसायिक उच्च शिक्षा हासिल गर्ने प्रबन्ध नगरमै मिलाउँछाँै । नगरपालिकाका ग्रामिण वस्तीहरूको सहरीकरणको विकास र गोदावरी, ठैव, ठेचो, चापागाउँलाई तत्कालै स्मार्ट सिटीको विकासका लागि पूर्वाधार तयार गर्छौं । खेलमैदान, बालमनोरञ्जन पार्क, युवामैत्री पार्क, रङ्गशाला, जेष्ठ नागरिक दिवा सेवा केन्द्र, आदिको व्यवस्थापन गर्छौं ।

पूर्वीय दर्शनमा आधारित योग र ध्यान शिवर तथा आध्यात्मिक केन्द्रहरुलाई सहयोग गर्नुका साथै आयुर्वेदिक स्वास्थ्य र शिक्षाको प्रवद्र्धनका कार्यक्रम थाल्नेछौं । विपद् जोखिम न्यूनीकरणका कार्यहरुलाई प्राथमिकता दिनेछौँ । नगरभित्रको भूमिको वैज्ञानिक व्यवस्थापन गर्छौं । नगरपालिकाको प्रशासनिक सेवा सुविधालाई अत्याधुनिक प्रविधियुक्त बनाएर भ्रष्टाचार र अनियमिततालाई शून्य सहनशीलता कायम गर्दै पाँच वर्षभित्र नगरमा विकासका आधारभूत पूर्वाधारहरूको लक्ष्य पूरा गर्ने योजना बनाएका छौँ ।