काठमाडौं महानगर प्रमुखका प्रत्यासी बज्राचार्यको प्रश्न –‘कहिलेसम्म हामी झुक्किइरहने ?’

उपप्रमुख उम्मेदवार अर्याल भन्नुहुन्छ – ‘ठूला सपना होइन, आधारभूत आवश्यकता पूरा गर्नुपर्छ’
२५ वैशाख, २०७४

काठमाडौं – नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबाट संयुक्त रुपमा उम्मेदवारी दिएका काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार पवित्र बज्राचार्यले सबै मिलेर समाजलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । उहाँले पुराना पार्टीहरुले महानगरबासीहरुलाई सपना मात्र बाँडेको आरोप लगाउँदै सुन्दर महानगर निर्माणका लागि मुख्य समस्या पहिचान गरी त्यसको समाधान गर्नुपर्ने बताउनुभयो ।

‘काठमाडौंका नगरबासीहरुलाई पटकपटक झुक्याइएको छ, र फेरि पनि हामीलाई झुक्याउन खोजिंदैछ’ उहाँले प्रश्न गर्नुभयो – ‘२०६२/६३ यताको झण्डै १० वर्ष ठूला पार्टीका नेताहरु राजनीतिक संयन्त्रको नाउँमा महानगरको नेतृत्व गरेर बसेका छन्, उनीहरुलाई यो महानगर बनाउन कस्ले छेक्यो ? किन यत्तिका वर्षसम्म यहाँ अव्यवस्था थोपरेको ? किन केही पनि नगरेको ? हामीलाई फेरि झुक्याउन खोजेका छन्, अब हामी कहिलेसम्म झुक्किइरहने ?’

प्रमुखका दाबेदार बज्राचार्यले ठूला दलका मानिसहरु शक्तिको उपयोग गर्न सत्तामा जान खोजेको तर्क गर्दै आफू जनताको सेवक भएर सेवा गर्न र नगरलाई बस्नलायक सहर बनाउने सपना पूरा गर्न नेतृत्वमा जान चाहेकोसमेत प्रष्ट पार्नुभयो ।

त्यस्तै दुवै पार्टीको तर्फबाट उपप्रमुखको उम्मेदवार बनेकी नयाँ शक्ति पार्टीकी नेतृ सबिना अर्यालले नगरबासीहरुलाई ठूला सपना देखाएर भन्दा पनि आधारभूत आवश्यकता पूरा गर्न र व्यवस्थित सहर बनाउने आफ्नो योजना रहेको बताउनुभयो । काठमाडौंको समस्या ठूला ठूला निर्माण भन्दा पनि यहाँको चुस्त व्यवस्थापन भएको बताउँदै भन्नुभयो –‘हामीले यहाँको तत्कालीन आवश्यकता पूर्तिमा जोड दिनुपर्छ । हिंड्नै नसकिने सडक सुधार गर्ने, खानेपानीको समस्या समाधान गर्ने, पर्यावरण र सांस्कृतिक सम्पदाको संरक्षण अनि यहाँको अव्यवस्थित ट्राफिक जामको समाधान । यिनै हुन् हामीले तत्काल गर्नुपर्ने कामहरु ।’

अर्यालले काठमाडौंको प्राचीन र मौलिक नेवारी भाषा, संस्कृतिको संरक्षण गर्नेपर्ने आवश्यकतामा समेत जोड दिंदै भन्नुभयो –‘नेवार समुदाय आफ्नै मौलिक सीप र क्षमता भएको समुदाय हो, त्यो सीपलाई नयाँ युग सुहाउँदो प्रविधिसँग मिलान गर्दै यहाँको समृद्धिमा उपयोग गर्नुपर्छ ।’

काठमाडौंको नयाँबजार खुसिबुँमा ज्यापू महागुथीले आयोजना गरेको उम्मेदवारहरुबीचको अन्तरक्रिया कार्यक्रममा नयाँ शक्ति, संघीय समाजवादी पार्टीका अलवा अन्य राजनीतिक दलका काठमाडौं महानगरपालिकाका उम्मेदवारहरुले पनि आआफ्नो योजना प्रस्तुत गरेको थिए ।