मन्थली नगरपालिकामा नयाँ शक्तिको घरदैलो जारी

२५ वैशाख, २०७४

मन्थली – रामेछाप जिल्लाको मन्थली नगरपालिकामा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको संयुक्त चुनाव प्रचार जारी रहेको छ । दुवै पार्टीको तर्फबाट नगर प्रमुखका उम्मेद्वार रामबहादुर तामाङसहितको निर्वाचन प्रचारप्रसार टोली उत्साहवद्र्धक ढंगले प्रचार अभियानमा अघि बढेको छ ।

निर्वाचन प्रचारप्रसारकै क्रममा मन्थली नगरपालिका वडा नं. १,२,३ र ५ नम्बरमा प्रचारप्रसार तथा घरदैलो अभियान सम्पन्न भएको र मन्थली, कठजोर, सुनारपानीलगायत गाउँमा भएको प्रचारप्रसार अभियानबाट मतदाताहरु नयाँ शक्तिप्रति आकर्षित भएको मेयरका उम्मेदवार तामाङले बताउनु भयो ।

निर्वाचन प्रचारकै क्रममा आज (सोमबार) सबैभन्दा बढी मतदाता रहेको क्षेत्र गेलू र फुलासीको वडा नं. ११, १२, १३ र १४ मा प्रचारप्रसार भइरहेको छ । चुनाव प्रचारका क्रममा नगर प्रमुखका दाबेदार तामाङले आफूले निर्वाचन जितेमा मन्थली नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले पूराना दलले यतिका समय देशलाई लुटेर खाने भन्दा अरु काम केही नगरेको आरोप लगाउँदै यतिबेला मुलुकवासीले समृद्धि चाहेकै कारण वैकल्पिक शक्तिका रुपमा उदाएको नयाँ शक्तिको पक्षमा जनलहर देखिएकोमा जोड दिनुभयो ।

दुवै पार्टीको तर्फबाट उपप्रमुखमा साबिला तामाङको उम्मेदवारी परेको छ । नयाँ शक्ति पार्टी र संघीय समाजवादीले मन्थली नगरपालिकामा पनि अन्यत्र जस्तै संयुक्त चुनाव प्रचार संयन्त्र निर्माण गरेर प्रचार जारी राखेको मेयरका उम्मेदवार तामाङले बताउनुभयो ।