पालुङटारलाई 'स्मार्ट सिटी' बनाउने मेयरका प्रत्यासी देवकोटाको प्रतिवद्धता

२५ वैशाख, २०७४

पालुङ्टार – यहि वैशाख ३१ गते प्रदेश ३, ४ र ६ मा हुन लागेको पहिलो चरणको स्थानीय तहको निर्वाचनको प्रचारप्रसार तीव्र रुपमा भइरहँदा यतिबेला गोर्खा जिल्लाको चुनावी चर्चा पनि चुलिंदै गएको छ । यो चर्चा यसकारण पनि हुँदैछ कि गोर्खा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको गृह जिल्ला हो । यसर्थ, गोर्खाको चर्चा अन्यत्रको तुलनामा बढी नै हुने गरेको छ । अझ डा. भट्टराईकै गृह नगर पालुङटार नगरपालिकामा यो निर्वाचनले थप चर्चा बटुलेको छ ।

पालुङटार नगरपालिकामा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले अशोक देवकोटालाई मेयर पदमा उम्मेद्वार बनाएको छ । देवकोटालगायतको टोली चुनाव प्रचारप्रसारको क्रममा नगरका टोलटोलमा पुगेका छ । स्थानीय जनताको समर्थनको हिसावले पनि नयाँ शक्ति पार्टी सम्पूर्ण उम्मेद्वार र स्वयं मेयरका उम्मेदवार अशोक देवकोटा प्रतिस्पर्धी उम्मेद्वारभन्दा निकै अगाडि देखिएका छन् । त्यसैले पालुङटार नगरपालिकामा नयाँ शक्ति पार्टीका उम्मेदवारहरुले निर्वाचन जित्ने लगभग निश्चितजस्तै देखिएको छ ।

निर्वाचन प्रचारप्रसारमा व्यस्त रहनुभएका मेयरका प्रत्यासी देवकोटासँगको संक्षिप्त कुराकानी गर्दा उहाँ अहिलेसम्मको प्रगतिबाट सन्तुष्ट हुनुहुन्छ । आफू पनि अहोरात्र खटिरहेको बताउँदै आफू मेयरमा निर्वाचित भएपछि पालुङटार नगरपालिकालाई पाँच वर्षभित्र स्मार्ट नगरपालिकाको रुपमा विकास गर्ने उहाँको योजना रहेको छ ।

देवकोटाले नयाँ शक्तिले निर्वाचन जितेपछि प्रत्येक साता एकपटक प्रत्येक वडामा पुग्ने र जनताको समस्या सुन्ने, आवश्यक सहयोग गर्ने प्रतिवद्धता जाहेर पनि गर्नुभएको छ । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई गोर्खाबाट निर्वाचित भएदेखि नै प्रत्येक महिना जनताको घरमा जाने कार्यक्रम बनाउनु भएको थियो ।

उहाँले त्यो बाचा प्रत्येक महिना गोर्खा गएर पूरा गरिरहनुभएको छ । हाल गोर्खामा नयाँ शक्ति पार्टीको पक्षमा त्यहाँका जनता र मतदाताहरुको उभार नै आएको छ । नयाँ शक्ति पार्टीप्रति उभार आएसँगै माओवादी केन्द्रबाट जनतालाई झुक्याउन अनेक भ्रम फैलाउने, बाबुराम भट्टराईको चुनाव चिन्ह हसिया हथौडा नै हो भन्नेजस्ता गलत प्रचार गर्ने काम भइरहको देवकोटाले बताउनुभयो ।

यसअघि गोर्खा नगरपालिकाको वडा नं. ९ लक्ष्मी बजारमा चुनाव प्रचारकै क्रममा नयाँ शक्ति पार्टीका कार्यकर्ताहरुलाई माओवादी केन्द्रका कार्यकर्ताहरुले बीच बाटोमा गाडी रोकेर तोडफोड र आक्रमण गरेको समाचार सार्वजनिक भएको थियो ।

अरुको दुष्प्रचारमा भन्दा आफ्नै पहलमा विश्वास गर्नुपर्ने उम्मेदवार देवकोटाको मत छ । ‘राजनीतिमा सामान्य नैतिकताको समेत ख्याल नगरी नयाँ शक्ति पार्टीप्रति भ्रम फैलाउने जुन काम भएको छ, त्यसलाई समेत चिरेर अगाडि बढ्ने र नयाँ शक्तिको सम्पूर्ण टिमले पालुङटार नगरपालिकामा निर्वाचन जितिने पक्का छ’ देवकोटाले विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय नेता कार्यकर्ताको हौसला बढाउ अहिले नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई विगत केही दिनेदेखि चुनाव प्रचारप्रसारकै क्रममा आफ्नो गृह जिल्ला गोर्खामा रहनु भएको छ ।