यस्तो छ नयाँ शक्तिको पर्यटन प्रवर्द्धन नीति

२६ वैशाख, २०७४

काठामाडौं– नयाँ शक्ति पार्टी, नेपालले आगामी ५ वर्षभित्र देशमा वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने घोषणासहित पर्यटन प्रवर्द्धन नीति ल्याएको छ । पार्टीले देशको पर्यटन क्षेत्रलाई आर्थिक क्रान्तिको आधारस्तम्भ मान्दै यसको विकास र प्रवद्र्धनका लागि छुट्टै पर्यटन प्रवर्द्धन नीति तयार गरेको छ । नयाँ शक्तिले आफ्नो चुनावी प्रतिबद्धतापत्रमा पर्यटनलाई समृद्धिको मानक मान्दै यसको विकास र प्रवद्र्धनात्मक नीति तयार बनाएको हो ।

नीतिमा देशका धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रको प्रवद्र्धन र सम्बद्र्धन गर्ने उल्लेख गरिएको छ । देशका लुम्बिनी, जनकपुर, पशुपतिनाथ, मनकामना–गोरखकाली, रारा, खप्तड, स्वर्गद्वारी, पाथिभरा आदि जस्ता धार्मिक–साँस्कृतिक र रमणीय पर्यटकीय स्थललाई अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण गरेर विकास गरिने पार्टीको योजना छ ।

त्यस्तै जलविहार, हिमाली, ऐतिहासिक–धार्मिक–साँस्कृतिक क्षेत्रको विकासमा समेत जोड दिइने नीतिमा उल्लेख छ । यस्ता पर्यटन केन्द्रको रूपमा प्रवद्र्धन गर्न सकिने २० स्थानहरुको पहिचान गरी सरकारी–निजी साझेदारी मोडेलमा ती स्थानहरुलाई विशेष पर्यटकीय क्षेत्रहरुको रुपमा विकास गर्ने नीति पार्टीले तय गरेको छ ।

ग्रामीण पर्यटन प्रवद्र्धनका लागि ‘होम स्टे’ कार्यक्रमलाई व्यापक बनाउने पार्टीको योजना छ । ‘पर्यटन क्षेत्रमा ‘होम स्टे’ सञ्चालन गर्न चाहने महिलाहरुको समूहका लागि ५० लाखसम्म आवश्यक कर्जा ५ प्रतिशत व्याजदरमा उपलब्ध गराइनेछ’, घोषणापत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी पदयात्रा पर्यटनको विकासमा विशेष ध्यान दिइने र पर्यटन विकासका लागि होटल सञ्चालन, तालिम प्राप्त पर्यटक गाइडको उत्पादन, पर्यटकको सुरक्षाका लागि पर्यटन प्रहरी, जोखिमपूर्ण पर्यटन क्षेत्रमा जाने पर्यटकहरुका लागि द्रूत उद्धार युनिटको प्रवन्ध मिलाउने नीति पार्टीले तय गरेको छ ।

हिमाल र पहाडका सबै नगरपालिका÷गाउँपालिकामा सानो हवाइमार्ग र हेलिप्याड निर्माण गरी आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने नयाँ शक्तिले जनाएको छ ।

चीन र भारत जस्ता ठूला देश र अर्थतन्त्रहरुको बीच रहेको सामरिक अवस्थिति र विविधतापूर्ण हावापानीको लाभ लिँदै नेपाललाई अन्तर्राष्ट्रिय व्यवसायिक, राजनीतिक, शैक्षिक र स्वास्थ्य पर्यटनकेन्द्रको रुपमा विकास गर्ने पार्टीले जनाएको छ ।

(तस्बिरमा कर्णालीको मुगुमा अवस्थित रारा तालका दृष्यहरु । तस्बिरहरु: मनिकर कार्की)