‘कुस्मा नगरपालिकामा ६ महिनाभित्र एक घर एक धाराको व्यवस्था’

२६ वैशाख, २०७४



पर्वत – नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमका तर्फबाट साझा उम्मेदवार बनेका पर्वत जिल्लास्थित कुश्मा नगरपालिका मेयर उम्मेदवार सुनिल पौडेलले त्यहाँको पर्यटन विकासमा जोड दिने बताएका छन् । उनले चुनाव जितेपछि पञ्चासे क्षेत्रमा पैदलयात्राको विकास गरी पर्यटकका लागि आकर्षक केन्द्र बनाउने आफ्नो योजना रहेको सुनाए ।

नगरप्रमुखका युवा उम्मेदवार पौडेलले कुश्मा नगरपालिका ज्ञाँदी, पाँङ र चुवाको उर्वर भूमि भएकाले सिँचाइको उचित व्यवस्था गरी वैज्ञानिक कृषि प्रणालीमा जोड दिने बताए । उनले पशुपालन क्षेत्रको पनि विकास गरी कृषकलाई सहुलियत एवं अनुदानको व्यवस्था गर्ने आफ्नो योजना रहेको बताएका छन् ।

पौडेलले भने – ‘कुश्मा नगरभित्रका स्वास्थ्य चौकीको अवस्था अत्यन्तै नाजुक छ । त्यस्तो व्यथितीको अन्त्य गरी नगरपरिसरमा सय सैैया र त्यसभन्दा माथिका सुविधा सम्पन्न अस्पतालको निर्माणमा जोड दिनेछु ।’

उनले प्रत्येक वडामा दुई लेनको पक्की सडक निर्माण गरी आवतजावतमा सहजता ल्याउने बताउँदै भने – ‘कुश्मादेखि बलेवासम्म पक्की सडक निर्माण गरी व्यापारिक मार्गकोरुपमा विकास गर्नेछु ।’

त्यसैगरी पाङ क्षेत्र व्राम्हण समुदायको पहिचानयुक्त थलो भएकाले एउटा संस्कृत विश्वविद्यालय निर्माण गर्ने योजना सुनाए । पौडेलले पिछडिएको समुदायलाई पनि सम्मानपूर्वक विशेष व्यवस्था गर्ने उद्घोष गरे । उनले भने – ‘शिक्षाको गुणस्तरतामा विकास गरी स्वरोजगारमूलक एवं प्रविधिमैत्री शिक्षाप्रणालीमा जोड दिनका लागि दिलोज्यानले लाग्नेछु ।’

उनले नगरपरिसर भित्र खेलकुदको मैदान नै नभएकाले सुविधा सम्पन्न मैदान निर्माण गरी खेलकुदको विकासमा जोड दिने, शान्तिसुरक्षा कायम गर्ने, भ्रष्टाचारमा शून्य सहनशिलता कायम गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

पौडेलले युवा जनशक्तिको पलायनलाई रोक्नका लागि कुस्मा नगर पहाडी इलाका भएकाले मझौला उद्योग कलकारखानाको निर्माण गरी स्वरोजगार बनाउने बताए । उनले निर्वाचन जितेको ६ महिनाभित्रमा नै ‘एक घर, एक धारा’को व्यवस्था गरिसक्ने पनि योजना रहेको बताएका छन् ।