‘कीर्तिपुरको खानेपानी समस्या एक महिनामा समाधान गर्छु’

२६ बैशाख, २०७४

काठमाडौं – नयाँ शक्ति र संघीय समाजबादी फोरमको संयुक्त गठबन्धका तर्फबाट कीर्तिपुर नगरपालिकाको उपमेयरकी उम्मेदवार शुभलक्ष्मी शाक्यले आफू निर्वाचित भए एक महिनाभित्रमा नगरपालिकाको खानेपानी समस्या समाधान गर्ने बताएकी छन् ।

स्थानीय चुनावी प्रतिबद्धता पत्रमार्फत उनले कीर्तिपुर नगरपालिकाभित्र रहेका गोरेटोबाटोहरु जग्गा अधिकरण विधि अनुसार फराकिलो पार्ने, सडक विस्तारका क्रममा जनतामा पर्ने असर न्यूनीकरण गर्न जनतालाई न्यायोचित क्षतिपूर्तिको ग्यारेण्टी गरेरमात्र सडक विस्तार गर्नेसमेत बताइन् ।

त्यस्तै ढल निकासको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न कीर्तिपुर, पाँगा, नाउँ, चोभार, टौदह, लगनखेल, भन्केपाटी, मच्छेगाउँ, सल्यानस्थान, ट्यांलाफाँट लगायतका मुख्य वस्तीहरुमा प्राविधिक अध्ययन गरी आधुनिक प्रविधियुक्त ढल निकासको व्यवस्था गर्ने बताएकी छिन् ।

त्यस्तै नगरपालिकाले तोकेको भवन निर्माण सम्बन्धी मापदण्डलाई लागू गर्ने, यहाँको सांस्कृतिक एवं परम्परागत मौलिक पहिचान कायम रहने गरी निमार्ण हुने भवनलाई दस्तुरमा सहुलियत दिनुका साथै नगरपालिकाले तयार गरेको खाका र स्टिमेटमा कम्तीमा १० प्रतिशत अनुदान दिने व्यवस्थासमेत गर्ने उनको योजना रहेको छ ।



संविधानले व्यवस्था गरे बमोजिम स्थानीय अदालतको गठन गरी सुलभ, निष्पक्ष र शीघ्र न्याय निरुपणमा जोड दिने बताइन् । कीर्तिपुरको मौलिक पहिचानलाई जगेर्ना गर्दै हस्तकाला उद्योग, घरेलु तथा साना उद्योगलाई प्रोत्साहित गर्नुका साथै घरेलु उत्पादनलाई राष्ट्रिय तथा अन्र्राष्ट्रिय बजार व्यवस्थापनमा पहल गर्ने पनि उनको योजना छ ।

भूकम्पका कारण क्षतिग्रस्त भएका वस्ती तथा सार्वजनिक स्थलहरुको पुननिर्माणलाई यथाशीघ्र सम्पन्न गर्ने र कीर्तिपुर एक ऐतिहासिक स्थल भएका कारण यहाँ रहेका समग्र जाति, भाषा धर्म संस्कृतिको संरक्षण र विकास गर्न साँस्कृतिक संग्राहलयको स्थापना गर्ने र ५ वर्षमा कीर्तिपुर नगरपालिकालाई स्मार्ट नगरपालिका बनाउने लक्ष्य राखेको पनि उनले बताइन् ।