‘भरतपुरका मतदाता विवेकी छन्, नयाँ शक्तिलाई नै जिताउँछन्’

२६ वैशाख, २०७४



नारायणगढ – पहिलो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा भरतपुर महानगरपालिकाको निर्वाचनले निकै ठूलो चर्चा पाएको छ । यो महानगरको उम्मेदवारमा सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रले साझेदारी गरेकै कारण पनि अहिले सबैको ध्यान त्यतैतिर परेको छ ।

फेरि भरतपुर महानगरपालिका व्यापारिक हिसाबले पनि महत्वपूर्ण भएकोले पनि यहाँको चुनावी नतिजा आफ्नो पोल्टामा पार्न दलहरु प्रचारप्रसारमा खटेका छन् । भरतपुर महानगरको चुनावी नतिजालाई आफ्नो पक्षमा पार्न नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त चुनावी संयन्त्र पनि कम्मर कसेर लागेको छ ।

भरतपुरका जनताले चुनावमा विवेक प्रयोग गर्ने र वैकल्पिक राजनीतिक शक्तिका रुपमा अगाडि आएको नयाँ शक्ति पार्टीका उम्मेद्वारको पक्षमा मतदान गर्ने नयाँ शक्ति पार्टीका तर्फबाट मेयरका प्रतिस्पर्धी सूर्य तिमल्सिनाले बताउनु भएको छ ।

चुनाव प्रचारप्रसारको क्रममा मेयर उम्मेदवार सूूर्य तिमल्सिना एवं उपमेयर उम्मेदवार शारदा घिमिरेलगायत नयाँ शक्ति पार्टीका संयोजक सोनामसिंह स्याङतान, चितवन जिल्ला सचिवालयका नेताहरुको टोली आज (मंगलबार) भरतपुर नगरपालिकाको सबैभन्दा घना वस्ती रहेको वडा नं. १० मा प्रचारप्रसारमा जुटेको तिमल्सिनाले बताउनुभएको छ ।



उहाँले भरतपुरका मतदाता निकै सचेत र विकेकशील भएकाले पनि आफ्नो पक्षमा माहोल बन्दै गएको दावीसमेत गर्नुभयो । आजसम्म महानगरपालिकाको सबै २९ वटै वडामा निर्वाचन प्रचारप्रसार कार्य सम्पन्न गरिसकेको र कविलासमा मात्रै प्रचारप्रसारमा पुग्न बाँकी रहेको तिमल्सिनाले बताउनुभएको छ ।

‘आफूलाई ठूला दल भनेर दावी गर्दै आएका पार्टीहरु निर्वाचन परिणाम आफ्नो पक्षमा नआउने देखेर नै तालमेल गरेका छन्’ मेयरका प्रत्यासी तिमल्सिनाले भन्नुभयो – ‘उसबाट पनि नयाँ शक्तिप्रति जनताको आकर्षण बढेको निश्कर्ष निस्कन्छ ।’

यसैबिच चितवनकै कालिका नगरपालिकामा पनि चुनावी प्रचार तीव्र भएको छ । कालिका नगरपालिकाको ३, ४, ५, ६, ७ र ८ वडाहरुमा चुनावी प्रचारप्रसार सम्पन्न भएको र त्यहाँका मतदाताहरुमा नयाँ शक्तिप्रति तीव्र आकर्षण रहेको नयाँ शक्तिका संघीय परिषद् सदस्य एवं उक्त नगरपालिकाका उत्प्रेरक अमृत थिङ तामाङले बताउनुभएको छ ।

नयाँ शक्ति र संघीय समाजवादी फोरमले कालिका नगरपालिका प्रमुखमा नविन आचार्य र उपप्रमुखमा सत्यदेवी श्रेष्ठलाई चुनावी मैदानमा उतारेका छन् ।