प्रदेश १ मा दुई पार्टीले संयुक्त चुनाव प्रचार संयन्त्र बनाउने

२६ वैशाख, २०७४

काठमाडौं – आगामी जेठ ३१ गते दोस्रो चरणमा हुने प्रदेश १, २, ५ र ७ को स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति १ नं. प्रदेशले संयुक्त चुनाव प्रचार संयन्त्र गठन गर्ने भएको छ ।

प्रदेश नं. १ मा नयाँ शक्ति र संघीय समाजवादी फोरमले संयुक्त चुनाव प्रचार अभियान सुरु गर्ने भएको हो । काठमाडौंमा सोमबार दुवै पार्टीका केन्द्रीय प्रतिनिधि बसी गरेको छलफलले जेठ ५ गतेभित्र आ–आफ्नो पहिचान सहित दुवै पार्टीले संयुक्त उम्मेदवार टुंगो लगाउने अनौपचारिक सहमति भएको नयाँ शक्तिका प्रदेश १ का संयोजक पासाङ शेर्पाले जानकारी गराउनु भयो ।

बैठकमा हेमराज राई, ध्यान बहादुर राई, मदन राई, पाशाङ शेर्पा, परशुराम तामाङ, केशव दाहाल, दिपक याक्खा, भुपेन्द्र नेम्वाङ, लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो । जेठ ५ गतेपछि दुवै पार्टीले आ–आफ्नो र संयुक्त प्रचारसामग्री तयार गरी संयुक्त रूपमा आमसभा, भेटघाट र घरदैलो लगायतका अभियानलाई तीव्र बनाउने भएको छ ।

पहिलो चरणको निर्वाचनमा चुनाव चिन्हको कारण नयाँ शक्तिले समयमै प्रचार अभियान लिएर जनताको घरदैलोसम्म पुग्न पाएको थिएन ।

नयाँ शक्तिको प्रदेश १ को सम्पर्क संयन्त्रको बैठकले जेठ ३ गते चुनावी तयारी भेला पनि डाक्ने भएको छ । सो भेलामा पार्टीका संयोजक डा. बाबुराम भट्टराईको हातबाट चुनावी प्रचार सामग्री ग्रहण गरी प्रदेश १ का सबै केन्द्रीय परिषद् सदस्यहरू आ–आफ्नो जिल्ला फर्कने तयारीमा जुटेको पनि संयोजक शेर्पाले बताउनु भयो ।

प्रदेशका १४ वटै जिल्लाका जिल्ला पार्टीलाई पनि तीव्र चुनाव प्रचारमा लाग्न र जेठ ३–५ गतेसम्ममा सबै जिल्लाले आफ्नो पार्टीको उम्मेदवारी टुङ्ग्याउन पनि आफूले निर्देशन दिएको शेर्पाले बताउनु भएको छ ।