३१ वर्षीय युवा उम्मेदवारको कृषि योजना

२६ वैशाख, २०७४

सिन्धुपाल्चोक – आउँदो वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनका लागि सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको नगर प्रमुखका उम्मेदवार हुनुहुन्छ ३१ वर्षीय एक युवा, सन्तोष रायमायझी ।

उहाँ नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त गठबन्धका तर्फबाट नगर प्रमुखको उम्मेदवार हुनुभएको हो । २०४२ सालमा जन्मनु भएका उहाँ त्यस क्षेत्रका शिक्षित युवा उम्मेदवारका रुपमा रहनु भएको छ । स्नताक तहको पढाई पूरा गरिसक्नु भएको उहाँ विगत १० वर्षदेखि विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।

शिक्षा क्षेत्रमा हुने गरेको माफियातन्त्रको विरुद्ध लड्दै आउनु भएको उहाँ अब बाह्रबिसे नगरपालिकालाई समुन्नत बनाउन नगरप्रमुखमा उठेको बतउनुहुन्छ । यो क्षेत्र काठमाडौं महानगरपालिकादेखि नजिक भएर पनि पिछडिएको क्षेत्रका रुपमा रहेको छ । ‘अन्य पार्टीका उम्मेदवार जस्तो करोडौं खर्च गरेर चुनावमा आएको होइन । समाजको निःस्वार्थ सेवा गर्न सामान्य तरिकाले चुनावको प्रचार प्रसार गरिरहेको छु’ – उहाँ भन्नुहुन्छ ।

युवाको विदेश पलायनलाई रोक्न स्थानीय स्रोत र साधनको प्रयोग गरी स्थानीय तहमा नै रोजगार सिर्जना गर्ने उहाँ बताउनुहुन्छ । मुख्य पेसा कृषि भएका कारण कृषि क्षेत्रको विकासका लागि उन्नत जातको बिउबिजनको व्यवस्था गर्ने, माटो परिक्षण गर्ने प्रणालीको व्यवस्था गरी आधुनिक कृषि प्रणालीतर्फ नगरपालिकालाई उन्मुख गराउने उहाँको योजना छ ।

आफू नगरप्रमुखमा निर्वाचित भए स्थानीय तहमा उत्पादित कृषि उपजको भण्डारणको लागि कोल्ड स्टोरेज निर्माण गर्ने, उपजहरुको बजारिकरण गर्ने, व्यवसायिक पशुपालन, स्वास्थ्य क्षेत्रको विकास, सुविधासम्पन्न अस्पतालको निर्माण तथा एम्बुलेन्स सेवा सुरु गर्ने उहाँको योजना रहेको छ ।