रुपन्देहीमा नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त चुनावी मोर्चा

२६ वैशाख, २०७४

बुटवल – आगामी जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा रुपन्देही जिल्लामा नयाँ शक्ति नेपाल पार्टी र संघीय समाजवादी फोरमसंयुक्त रुपमा मोर्चा बनाएर निर्वाचनमा जाने भएका छन् ।

मंगलबार भैरहवामा बसेको दुई पार्टीको संयुक्त बैठकले केन्द्रको निर्णयअनुसार रुपन्देहीमा पनि एक भएर चुनाव लड्ने निर्णय गरेको हो । बैठकले रुपन्देहीका सबै नगरपालिका र गाउँपालिकाहरुमा संयुक्त रुपमा निर्वाचनमा जाने निर्णय गरेको नयाँ शक्ति नेपालका संघीय परिषद् सदस्य किस्मत विकले जानकारी दिनुभयो ।

साथै दुई पार्टीले संयुक्त रुपमा जिल्लास्तरीय निर्वाचन परिचालन मूल समिति समेत गठन गरेका छन् । समितिमा महेन्द्र यादव, यज्ञ पोखरेल, देवेन्द्र पाण्डे, किस्मत बिक, निर्दोष अली, शारदा घिमिरे, रामू यादव, निलम यादव, रामऔतार यादव र फकुरदिन खाँ रहेका छन् ।

जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरुमा समेत संयुक्त रुपमा निर्वाचन परिचालन गर्ने र जिल्लामा क्रियाशील राजनीतिक दलहरुसँग पनि वार्ता गरी विचार मिल्ने अन्य दलहरुसँग सहकार्य गर्ने निर्णय समेत गरेको संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष महेन्द्र यादवले बताउनुभएको छ ।

यसैबिच रुपन्देहीका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय नयाँ शक्ति पार्टी नेपालमा आवद्ध भएका छन् । यसअघि राष्ट्रिय जनमुक्ति पार्टीमा आवद्ध आनिक रानामगरको संयोजकत्वमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय संगठन रुपन्देही गठन गरी सबै नगरपालिकामा संगठन विस्तार गर्ने निर्णय समेत उनीहरुले गरेका छन् ।

जसअनुसार बुटवल उपमहानगरमा सन्तु पुन, सिद्धार्थ नगरपालिकामा हरि गुरुङ, देवदहमा विमली बस्नेत, सैनामैनामा उदयबहादुर थापा र तिलोत्तमा नगरपालिकामा हैदर अली शेखलाई संगठन विस्तार गर्न संयोजक तोकेको उहाँले बताउनुभयो ।