पोखराका घरघरमा पुग्दै नयाँ शक्ति र संघीय समाजवादी

२६ वैशाख, २०७४

पोखरा – नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको संयुक्त गठबन्धनले चुनावी अभियान अन्तर्गत कास्कीका गाउँपालिका तथा पोखरा लेखनाथ महानगरका वडाहरुमा घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ । चुनाव प्रचारमा खटिएको संयुक्त संयन्त्रले वडाका विभिन्न ठाउँ–ठाउँमा भेला आयोजना गरी आफ्नो प्रतिवद्धतासहित घरदैलो कार्यलाई तीव्र बनाएको हो ।

पोखरालेखनाथ–२६ सट्नेरीमा संयुक्त गठबन्धनबाट पोखरा लेखनाथ महानगर मेयर पदका उमेद्वार हुमबहादुर गुरुङले आउँदो १० वर्षभित्र महानगरलाई एक स्र्माट सिटीका रुममा विकास गर्ने योजनाका साथमा समान शिक्षा, स्वास्थ्यलाई निःशुल्क गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी संयुक्त गठबन्धनकै उपमेयर पदकी उमेद्वार लक्ष्मी खाती परियारले अहिले देशमा भैरहेको वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय असमानता, विभेद, शोषण र उत्पीडनलाई अन्त्य गर्न कटिबद्ध भएर लागि पर्ने बताउनुभएको छ । वडा अध्यक्ष पदका उमेद्वार सु. मेघ बहादुर गुरुङले वडाको विकासका लागि मसाल चिह्नमा मतदान गर्न अपिल गर्नुभएको छ ।

पोखरालेखनाथमा रहेका विभिन्न सुकुम्वासी टोलमा भेला तथा घरदैलो कार्यक्रम गर्दै संयुक्त गठबन्धनले पोले–२७ को अर्चलेमा भेला सम्पन्न गरेको छ । गठबन्धनका मेयर, उपमेयर तथा वडा अध्यक्ष तथा सदस्य पदका उमेद्वारहरुले आफ्नो ठाउँको विकासका लागि दक्ष व्यक्ति चुन्ने अवसरलाई नगुमाउन मतदाताहरु समक्ष आग्रह गर्नुभएको छ ।

पोले–२७ का वडा अध्यक्ष पदका उमेद्वार लाल बहादुर गुरुङको नेतृत्वमा संचालित घरदैलो कार्यक्रममा निर्वाचन परिचालन समितिका दिपक तामाङ, शम्भु खाती परियार, सौगात पोखरेल, पान बहादुर घर्ती, हेमबहादुर थापा, अनुगमन तथा निर्देशन समितिका जिल्ला संयोजक देबिराज गुरुङ (तमु) लगाएतको सहभागिता रहेको थियो ।

त्यस्तै पोले ३३ वडा अध्यक्ष पदका उमेद्वार चेतबहादुर महत, पोले ११ वडा अध्यक्ष पदका उमेद्वार सन्तोष बास्तोला, पोले २५ वडा अध्यक्ष पदका उमेद्वार बाबुराम अधिकारी, पोले–६ वडा अध्यक्ष पदका उमेद्वार सन्देश गिरीको नेतृत्वमा घरदैलो कार्यक्रम भैरहेको छ ।

माछापुच्छ्रे गाउँपालिकामा पनि घरदैलो

यसैबिच संयुक्त गठबन्धनले कास्कीको माछापुच्छ«े गाउँपालिकामा पनि घरदैलो गरी कोणसभा गरेको छ । प्रचार संयन्त्रले धिताल अस्थाम, गौरेगाम, नयाँगाउँ, हेम्जाकोट, आकारी, धम्गौडा, सिनेस्वारालगाएतको स्थानमा घरदैलो गरी भेडाबारीमा कोणसभा गरेको हो ।

कोणसभामा बोल्दै माछापुच्छ«े गाउँपालिकाका प्रमुख पदका उमेद्वार तोयानाथ लम्सालले माछापुच्छ«े गाउँपालिकाको सम्पूर्ण स्रोत र साधनहरुलाई समुचित रुपले प्रयोग गरी सम्पन्न र समृद्ध गाउँपालिका बनाउन स्पष्ट दृष्टिकोणसहित आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोणसभामा निर्वाचन परिचालन समितिका भानु अधिकारीले परम्परावादी सोचलाई हटाई नयाँ सोँच र आधारमा चल्ने राजनैतिक दल तथा व्यक्तिलाई मतदान गर्न आग्रह गर्नुभयो । कार्यक्रम मिनराज पौडेल, हर्क बहादुर नेपालीसहित वडावासीको सहभागितामा घरदैलो तथा कोणसभा सम्पन्न भएको थियो ।