नयाँ शक्तिको औद्योगिक विकास नीति

२७ वैशाख, २०७४

काठमाडौं – देशको विकास र समृद्धिको नारासहित स्थापना भएको नयाँ शक्ति पार्टी, नेपालले समृद्ध नेपाल निर्माणका लागि औद्योगिक विकास नीति तयार गरेको छ । औद्योगिक विकासका माध्यमबाट मात्रै नेपाललाई विकसित राष्ट्रमा पुर्याउन सकिने जनाउँदै नयाँ शक्तिले मुलुकको औद्योगिक विकासका लागि आफ्नो चुनावी प्रतिबद्धतापत्रमा छुट्टै औद्योगिक नीति तयार गरेको हो ।

नयाँ शक्तिले आफ्नो चुनावी प्रतिबद्धतापत्रमा ५, १५ र २५ वर्षे औद्योगिक नीतिलाई समावेश गर्दै उद्योग व्यवसायसँग सम्बन्धित विभिन्न क्षेत्रहरुको योजनाबद्ध विकास गर्ने प्राथमिकता निर्धारण गरेको छ ।

त्यस्तै अनुत्पादक क्षेत्रमा लगानी भइरहेको पूँजीलाई व्यवस्थित गर्ने पार्टीको योजना अनुरुप विशेष वित्तीय, मौद्रिक र अन्य आवश्यक नीतिको अनुसरण गरी त्यस्तो पूँजीलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्ने योजना पार्टीले बनाएको छ ।

स्वस्थ औद्योगिक विकासका निम्ति आवश्यक पर्ने पूँजी, बजार, श्रमसम्बन्ध, शान्तिसुरक्षा, नियम–कानून र प्रशासन जस्ता पूर्वाधारहरुको समस्या समाधानलाई प्राथमिकतामा राखिने जनाउँदै विश्व वजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय बस्तु उत्पादन गर्न सक्ने खालका बस्तुको उत्पादनलाई जोड दिने नयाँ शक्तिले जनाएको छ ।

औद्योगिक विकासका लागि हरेक प्रदेशका कम्तीमा दुई स्थानहरू पर्ने गरी २० स्थानमा विशेष औद्योगिक क्षेत्र स्थापना गर्ने, तराई भेगका न्यूनतम १० ठाउँमा एक/एक कृषि तथा कपडाजन्य उपभोग्य वस्तुहरू उत्पादन गर्ने उद्योग स्थापना, जलविद्युत, सडक, भवन निर्माणका लागि आवश्यक पर्ने फलाम, सिमेण्ट, टर्वाइन एवं जेनरेटर उत्पादन, कृषि औजार कारखानाहरु स्थापना गर्ने तथा एउटा साना गाडी उत्पादन कारखाना खोल्ने नयाँ शक्तिले योजना बनाएको छ ।

पहाडमा न्यूनतम ७ स्थानहरुमा एक/एक कृषि तथा पशुजन्य, फलफूल तथा वन पैदावारजन्य उपभोग्य वस्तुहरू उत्पादन गर्ने उद्योगहरू खोल्ने योजना छ । हिमाली भेगमा न्यूनतम ३ स्थानहरुमा एक/एक जडीबुटी तथा आयुर्वेदिक औषधि, खानीजन्य उद्योग र फलफूलजन्य वस्तुहरू उत्पादन गर्ने अन्तर्राष्ट्रिय स्तरका उद्योगहरू खोल्ने व्यवस्था गर्ने पार्टीले जनाएको छ ।

त्यसैगरी स्थानीय तहमा साना तथा मझौला उद्योगधन्दा, कलकारखाना सञ्चालन गर्न निजी उद्यमीहरुलाई प्रोत्साहन गर्दै रोजगारी र आय उपार्जनको वतावरण बनाउने घोषणापत्रमा उल्लेख छ ।

भारत र चीनका औद्योगिक प्रतिष्ठानहरुसँग मूल्य–शृङ्खला (भ्यालु चेन) मा जोडिन सक्ने अग्र र पृष्ठ सम्बन्ध (फरवार्ड तथा ब्याकवार्ड लिङ्केज) भएका उत्पादनशील उद्योगहरूको पहिचान गरी निजी क्षेत्रलाई त्यस्ता उद्योगहरूमा लगानी गर्ने उपयुक्त वातावरणको निर्माण गर्ने पार्टीले जनाएको छ ।

अन्तर्राष्ट्रिय ब्रान्डेड कम्पनीहरुलाई नेपालमा उत्पादन गरी भारत र चीनतर्फ निर्यात गर्न विशेष प्रोत्साहन दिइने नयाँ शक्तिको उद्योग नीतिमा उल्लेख गरिएको छ ।