नयाँ शक्तिको घोषणा, प्रत्येक प्रदेशमा ५०० सैयाका दुई अस्पताल

२७ वैशाख, २०७४

काठामाडौं – नयाँ शक्तिले हरेक प्रदेशमा दुई/दुई वटा ५०० सैयाका ठूला अस्पताल निर्माण गर्ने योजना अघि सारेको छ । स्वास्थ्य क्षेत्रमा व्याप्त विकृति विसंगति रोक्न र स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन विशेष योजना निर्माण गरी अघि बढ्नुपर्ने पार्टीको धारणा छ ।

यस्तै पार्टीले सामाजिक सुरक्षामासमेत विशेष ध्यान दिएको छ । पार्टीले १५ वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

पूर्ण शारीरिक अपाङ्गता भएका, गर्भवती महिला, एकल महिला, द्वन्द पीडित, दलित समुदाय, यौनिक तथा लैंगिक अल्पसंख्यक, गरीबीको रेखामुनिका परिवारका लागि स्वास्थ्य सेवामा ७५ प्रतिशत छुटको व्यवस्था गर्ने र अन्त्यमा निःशुल्क उपचारको व्यस्था मिलाउने घोषणापत्रमा उल्लेख छ ।

५ वर्षभित्र सबैलाई स्वास्थ्य वीमाको कार्यक्रमलाई अभियानको रूपमा लागू गर्ने पार्टीको योजना छ । ग्रामीण क्षेत्रबाट समयमै अस्पताल पुग्न नसक्नेहरुका लागि अस्पतालसम्म ल्याउनको लागि हेलिकप्टरको व्यवस्था गर्ने समेत पार्टीले जनाएको छ ।

‘कर्णाली लगायत विकट र दुर्गम क्षेत्रमा समयमा अस्पताल पुग्न नसकेर ज्यान गुमाइरहनुपरेको तथ्यलाई मध्यनजर राख्दै महिला र आपतकालीन विरामीहरुको ओसारपसार गर्नका लागि तत्काल ५ वटा हेलिकप्टरको व्यवस्था गरिनेछ’, पार्टीको घोषणापत्रमा उल्लेख छ ।