धुवाँरहित गाउँपालिका बनाउने लखन थापा गाउँपालिका प्रमुख उम्मेदवार श्रेष्ठको योजना

२७ वैशाख, २०७४

गोरखा – नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमका तर्फबाट गोरखा जिल्लाको लखन थापा गाउँपालिका प्रमुखका साझा उम्मेदवार गोपालबाबु श्रेष्ठले निर्वाचन जिते गाउँको पर्यटन विकासमा जोड दिने बताउनुभएको छ ।

‘गोरखा पर्यटनको इपिसेन्टर पनि हो’, श्रेष्ठले भन्नुभयो – ‘यहाँका हिमालहरुले अझै एक्सपोजर पाउन सकेका छैनन् । मेरो उदेश्य नै गोरखालाई पर्यटनको प्रमुख गन्तव्य बनाउने हो ।’

पर्यटकीय विकासका लागि प्रमुख समस्या नै पूर्वाधारको विकास भएकाले त्यसको विकासमा अहोरात्र खटिने श्रेष्ठको प्रतिवद्धता छ । उहाँले चुनाव जितेपछि आगामी पाँच वर्षभित्रमा नगरपालिका बनाउन मिल्ने संरचना तयार पार्ने योजना पनि सुनाउनुभयो ।

युवा उम्मेदवार श्रेष्ठले गाउँपालिका क्षेत्रका किसानहरुलाई सिँचाइको उचित व्यवस्था गरी वैज्ञानिक कृषिप्रणालीमा जोड दिने बताउनुभयो । पशुपालन क्षेत्रको विकास गरी कृषकलाई सहुलियत एवं अनुदानको व्यवस्था गर्ने श्रेष्ठको योजना रहेको छ ।

उहाँले भन्नुभयो – ‘लखन थापा गाउँपालिकाको स्वास्थ्य चौकीको अवस्था दारुण छ । यहाँ उत्कृष्ट स्वास्थ्य संस्था आवश्यक छ । यहाँ १५ सैया र त्यसभन्दा माथिका सुविधा सम्पन्न अस्पतालको निर्माणमा जोड दिनेछु ।’

त्यस्तै, श्रेष्ठले बिरामीको पीडालाई ध्यानमा राखी प्रत्येक वडामा एक—एक वटा एम्बुलेन्सको व्यवस्था गर्ने योजना पनि सुनाउनुभयो । उहाँले भन्नुभयो – ‘सुत्केरी महिला, विभिन्न प्रकारका गम्भीर विरामीहरु उपचार नपाउँदा अकालमै ज्यान गुमाउन बाध्य छन् । त्यसको निवारणका लागि पनि दिनरात नभनी खटिनेछु ।’

उहाँले प्रत्येक वडामा दुई लेनको पक्की सडक निर्माण गरी आवतजावतमा सहजता ल्याउने योजना सुनाउँदै भन्नुभयो – ‘ गाउँपालिकामा पक्की सडक निर्माण गरी व्यापारिक मार्गकोरुपमा विकास गर्नेछु ।’
शिक्षाको गुणस्तरतामा विकास गरी स्वरोजगारमूलक एवं प्रविधिमैत्री शिक्षाप्रणालीमा जोड दिनका लागि दिलोज्यानले लाग्न श्रेष्ठको भनाइ छ ।

उहाँले गाउँपालिकाभित्र खेल मैदान नै नभएकाले सुविधा सम्पन्न मैदान निर्माण गरी खेलकुदको विकासमा जोड दिने, शान्तिसुरक्षा कायम गर्ने, भ्रष्टाचारमा शुन्य सहनशिलता कायम गर्ने पनि प्रतिवद्धतासमेत जाहेर गर्नुभयो ।

श्रेष्ठले युवा जनशक्तिको पलायनलाई रोक्नका लागि गाउँपालिका पहाडी इलाका भएकाले मझौला उद्योग कलकारखानाको निर्माण गरी स्वरोजगार बनाउने बताउनुभयो । उहाँले निर्वाचन जितेको ६ महिनाभित्रमा नै ‘एक घर, एक खानेपानीको धारा’को व्यवस्था गरिसक्ने बताउँदै उहाँले पाँच वर्षमा साना जलविद्युतको उत्पादनमा जोड दिइने र धुवाँरहित गाउँपालिका निर्माण गर्ने योजनासमेत सुनाउनुभयो ।