यस्तो छ नयाँ शक्तिको महिला सशक्तिकरण नीति

२७ वैशाख, २०७४

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालले महिलाको सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु अगाडि सारेको छ । नेपालको संविधानमा उल्लेखित महिला समानता र समावेशी समानुपातिक प्रतिनिधित्वको हक र अधिकारलाई राज्यका सबै अंगहरुमा कडाइपूर्वक कार्यान्वयनमा ल्याउने आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

महिलामाथि हुने हरेक हिंसाको अन्त्यका लागि ‘फाष्ट ट्रयाक महिला न्याय यूनिट’को व्यवस्था गर्ने नयाँ शक्तिले जनाएको छ । हिंसा पीडित महिलाहरुलाई राज्यले नै क्षतिपूर्ति दिने व्यवस्था गर्नुका साथै दोषीलाई कडाइपूर्वक दण्डित गर्ने व्यवस्था गरिने नयाँ शक्तिले आफ्नो घोषणापत्रमार्फत प्रतिबद्धता जनाएको छ ।

महिलाहरुको क्षमता अभिवृद्धि तथा सशक्तिकरण गर्नका लागि कृषि, कुटीर तथा साना उद्योग र व्यवसाय जस्ता विषयहरुमा ‘महिला सशक्तीकरण’ कार्यक्रम सञ्चालन गरिने बताइएको छ । उत्पादनमूलक तथा रोजगारमूलक उद्यम गर्न चाहने महिलाहरुका लागि १० वर्षका लािग रू. १ करोडसम्म ऋण दिने र त्यसको ब्याज ५ प्रतिशत कायम गर्ने व्यवस्था गरिने नयाँ शक्तिले जनाएको छ ।

त्यस्तै महिलाहरुलाई पनि पुरुष सरह समान कामको समान ज्यालाको नीतिगत व्यवस्था कार्यान्वयन गरिनुका साथै गर्भवती महिलालाई निःशूल्क नर्सिङ्ग सेवा र सुत्केरी सेवा दिइने उल्लेख गरेको छ ।

किसान मजदूर क्षेत्रका महिलाहरुलाई सुत्केरी हुँदा पोषणभत्ता दिने व्यवस्था गरिने तथा महिला विशेषसम्बन्धी रोगहरु पाठेघर, स्तन क्यान्सर, पाठेघर खस्ने, पिसाव चुहिने लगायतको उपचार निःशूल्क गर्ने व्यवस्था मिलाउने नयाँ शक्तिले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

नयाँ शक्तिले ग्रामीण महिलाहरुको सम्पत्तिमा समान हकको सुनिश्चितता गर्न संयुक्त जग्गाधनी पूर्जाको नीति अनुरूप सम्पूर्ण महिलालाई जमिनको आधा हिस्सा दिने व्यवस्था गर्नेसमेत उल्लेख गरेको छ ।