नवलपरासीमा नयाँ शक्तिप्रति बढ्दो आकर्षण

२७ वैशाख, २०७४

गैंडाकोट – स्थानीय तह निर्वाचनको माहोल तात्तिँदै जाँदा नवलपरासीको गैंडाकोट नगरपालिकामा चुनाव प्रचारप्रसारको क्रमले ठूलो तरङ्ग पैदा गरेको छ । यस नगरपालिकामा यस अघि प्रभाव पार्न सफल भएका नेपाली कांग्रेस र एमालेजस्ता ठूला दलहरुप्रति युवा पंक्तिको आकर्षण घट्दै गएको छ ।

अहिले सो नगरपालिकाका युवाहरु नयाँ शक्तिप्रति आकर्षित भएका छन् । नयाँ शक्तिप्रतिको आकर्षणकै कारण त्यहाँको चुनावी माहोलमा नै तरङ्ग आएको नयाँ शक्ति पार्टीका तर्फबाट मेयरमा उम्मेदवारी दिनुभएका गोपेन्द्रकेशरी न्यौपानेले बताउनुभयो । ‘यतिबेला गंैडाकोटमा नयाँ शक्तिप्रति युवाहरुको आकर्षण ह्वात्तै बढेको छ’ उहाँले भन्नुभयो ।

‘अरुले गर्छन् कुरा, हामी गर्छौ पूरा’ भन्ने मूल नारासहित निर्वाचनमा होमिएको नयाँ शक्तिप्रति नवलपरासी जिल्ला र जिल्लाकै महत्वपूर्ण नगरपालिकाको रुपमा रहेको गैंडाकोटमा नयाँ शक्ति पार्टीप्रति यस्तो आकर्षण बढेको पार्टीका स्थानीय नेताहरुको भनाइ छ ।

संघीय समाजवादी फोरससँग चुनावी सहकार्य गरेर मसाल चिन्हसहित चुनावमा होमिएको नयाँ शक्ति पार्टी स्थापनाको एक वर्ष पूरा नहुँदै मुलुककै शक्तिशाली राजनीतिक पार्टीको रुपमा स्थापित भएको छ ।



गंैडाकोटमा युवा पंक्ति मात्रै होइन, वृद्धवृद्धा तथा हरेक उमेर समूहका दाजुभाइ, दिदीबहिनीहरुसमेत नयाँ शक्तिप्रति आकर्षित भएपछि यो नगरपालिकामा जित निश्चितजस्तै भएको न्यौपानेले दाबी गर्नुभयो । हाल चुनाव प्रचारप्रसारका क्रममा नगरका टोलटोल र घरघरमा अभियानका साथ पुगिसकेको उहाँले बताउनुभएको छ ।

यसैबिच नवलपरासीको गंैडाकोट मात्रै होइन, जिल्लाको कावासोती नगरपालिकामा पनि मतदाता जनताको आकर्षण नयाँ शक्तिप्रति बढ्दै गएको छ ।

नवलपरासीकै देवचुली नगरपालिकामा समेत नयाँ शक्तिको चुनावी अभियानमा जनलहर बढ्दै गएको छ । यसपालीको चुनावमा नवलपरासीमा नयाँ शक्ति बलियो शक्तिका रुपमा स्थापित भएको सम्बन्धित नगरपालिकाका मेयर लगायत अन्य पदमा उम्मेदवारी दर्ता गराउनु भएका नयाँ शक्ति पार्टीका उम्मेद्वारहरुले दाबी गर्नुभएको छ ।