पोखरामा नयाँ शक्ति र संघीय समाजवादीको चुनावी भेला

२७ वैशाख, २०७४

पोखरा – संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको संयुक्त चुनावी गठबन्धनले पोखरा लेखनाथ वडा नं.–१९ लामाचौरमा बुधबार चुनावी भेला सम्पन्न गरेका छ । स्थानीय तह निर्वाचन मिति नजिकिंदै गर्दा चुनावी अभियान अन्तर्गत भेला तथा घरदैलोलाई गठबन्धनले तीव्र बनाएको हो ।

भेलामा बोल्दै पोखरा–लेखनाथ महानगरका मेयर पदका उमेद्वार हुमबहादुर तमुले महानगरलाई एक स्मार्ट सिटीका रुपमा विकास गर्ने र पूर्वाधार विकास, आर्थिक वृद्धि तथा रोजगारी, सुशासन र सद्भावनायुक्त समाजको विकासमा ठोस कदम चाल्ने प्रतिवद्धता जनाउनुभएको छ ।

त्यस्तै उपमेयर पदकी उमेद्वार लक्ष्मी खाती परियारले पुराना दल वा शक्तिहरुले देशको विकास गर्न र सुशासन कायम गर्न असफल भएका कारण आफूहरु वैकल्पिक राजनीतिक धारसहित अघि बढेको बताउनुभयो । उहाँले आम मतदाताहरुलाई मसाल चिह्नमा मतदान गरि देश विकासमा हातेमालो गर्नसमेत अपिल गर्नुभएको छ ।

भेलामा संघीय समाजवादीका वडा १९ का संयोजक जगन प्रसाद गुरुङ, नयाँ शक्ति कास्की जिल्लाका संयोजक हेमबहादुर थापा, निर्वाचन परिचालन समितिका गिरीप्रसाद गुरुङ, सौगात पोखरेल, लोकदोहोरी गायिका तारा जिसी, वडा १९ का अध्यक्ष पदका उमेद्वार सु. मनबहादुर पुनलगाएतले समुन्नत समाजको परिकल्पनालाई साकार पार्न मसाल चिह्नमा मतदान गर्न अपिल गर्नुभएको थियो ।

त्यसैगरी चुनावी संयुक्त संयन्त्रले पोखरा–लेखनाथ १३ मा भेला सम्पन्न गरेको छ । पासगाँउ तमु समाजमा सम्पन्न भेलामा वडा अध्यक्ष पदका उमेद्वार हरिबहादुर गुरुङ, निर्वाचन परिचालन समितिका दिपक तामाङ, सु. नौ बहादुर गुरुङ, मोहम्मद अलिमिया, तारा परियारलगाएतले विकासका लागि स्थानीय चुनावमा दक्ष व्यक्ति चुनिनु आवश्यक रहेकामा जोड दिनुभएको छ । भेला पश्चात वडामा घरदैलो कार्यक्रम भएको थियो ।