बुढानिलकण्ठ नगरपालिका उम्मेदवारका विकासका योजनाः सार्वजनिक सौचालयदेखि निःशूल्क यातायातसम्म

२८ वैशाख, २०७४

काठमाडौं – नयाँ शक्ति र संघीय समाजवादीको संयुक्त गठबन्धका तर्फबाट काठमाडौं जिल्लाको बूढानीलकण्ठ नगरपालिकामा मेयर पदमा लक्ष्मण गुरुङ र उपमेयर पदमा अनिता श्रेष्ठ चुनावी मैदानमा उभिनुभएको छ । उहाँहरुले आफू निर्वाचित भए नगरपालिकाको सवाङ्गिण विकासका लागि आफ्ना योजनाहरु अगाडि सार्नुभएको छ ।

लक्ष्मण गुरुङ, मेयर उम्मेदवार

नेपालको संविधानले स्थानीय निकायलाई दिएका हक अधिकारको पूर्णरुपमा कार्यान्वयन गरी नगरपालिकालाई स्थानीय सरकारको रुपमा संचालन गर्ने योजना छ । नीति निमार्ण तहमा स्थानीय आर्य खस, आदिवासी जनजाति, मुस्लिम, दलित र महिलाहरुको पहुँच पु¥याउने र विधिको शासन लागू गर्ने र नगरपालिकाको समग्र विकासका लागि स्थानीय जनताको आवश्यकता र प्राथमिकताका आधारमा नगर विकासको योजना तर्जुमा गर्नुका साथै त्यसको कार्यन्वयन, अनुगमन र मूल्याङकन गर्दै लैजानेछु ।

संयुक्त गठबन्धनले केन्द्रीय स्तरबाट स्थानीय तहमा चुनावका लागि गरेको प्रतिबद्धताहरुलाई आवश्यकता अनुसार परिमार्जित गर्दै लागू गर्नेछु । संविधानले सम्बोधन गर्न नसकेका मजदूर, किसान, दलित, महिला मधेसी, मुस्लिम लगायतका पछाडि परेका वर्गका हक र अधिकारका विषयमा नीति निमार्णका तहमा पु¥याउन संघर्ष गर्नेछु ।

नगरपालिका भित्रका सबै क्षेत्रका वडाका बाटो कालोपत्रे गर्ने, रुद्रमती र विष्णुमती कोरिडोर रोड निमार्ण गरी यातायात व्यवस्थापनलाई व्यवस्थित गर्ने, ढलनिकास र बिजुलीका पोल व्यवस्थित गर्ने, नगरको दैनिक सररफाई गर्ने, फोहोर व्यावस्थापन, टेलिफोन, सार्वजनिक सौचालय निर्माण गर्ने तथा पाँचौ शताव्दीमा निर्माण भएको ऐतिहासिक बूढानीलकण्ठ मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने योजना रहेको छ ।

अनिता श्रेष्ठ, उपमेयरकी उम्मेदवार

नगरपालिकामा भएका गर्भवती महिला, १० वर्षमुनिका बालबालिका, ७० वर्षमाथिका जेष्ठ नागरिक र सन्त तथा भिक्षुहरुलाई नगरपालिका भित्र गुड्ने सार्वजनिक यातायातमा निःशूल्क सेवाको विस्तार गर्ने योजना रहेको छ । नगरपालिकाको हरेक वडामा एक असहाय महिला उत्थान केन्द्र र असहाय बृद्धबृद्धाहरुका लागि स्याहार सुसार गृहको निमाण गरिनेछ ।

नगरपालिकाभित्र रहेका सुकुम्वासीहरुलाई आवास भवन निमार्ण गरी सुलभ कर्जामा उपल्ब्ध गराउने व्यवस्था गरिने छ । हरेक वडामा एक खाद्य डिपो, उत्पादन संकलन र बिक्री केन्द्रका साथै एक कोल्ड स्टोरको स्थापना गर्ने योजना रहेको छ । स्थानीय आदिवासी महिलाहरुले परम्परागत रुपमा बनाउने गरेका जाँड रक्सी उत्पादनको उत्पादनमा स्तोरउन्नति र करयोग्य बनाई बिक्री योग्य बनाउन पहल गरिनेछ ।

बाँझो राखिएको जमिनको व्यवस्थापन गरी तरकारी उत्पादन, बीउबीजन उत्पादन तथा फूलको व्यावसायीक उत्पादनमा लगाउने, स्थानीय व्यक्तिद्वारा अतिक्रमण गरिएको सार्वजनिक जग्गा सर्वपक्षीय संयन्त्र बनाई नगरपालिकाले उपयोग गर्ने, जैविक विविधता, लोपन्मुख वन्यजन्तु तथा वनस्पतिको संरक्षण, धर्म संस्कृति र योगाअभ्यासको संरक्षण गर्नुका साथै स्थानीय भाषाको संरक्षणका लागि मातृभाषामा पठनपाठन गरिने व्यवस्था मिलाउने छु ।