शून्य समय अघि यसरी हुँदैछ गोरखामा चुनावी प्रचार

२८ वैशाख, २०७४

गोरखा – नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमको संयुक्त चुनावी संयन्त्रले गोरखामा आफ्नो प्रचारलाई आज (बिहिबार) अन्तिम दिन थप तीव्र बनाएको छ ।

जिल्लामा दुई नगरपालिका र ९ गाउँपालिका रहेका छन् । गोरखा नगरपालिकाबाट मेयरमा ज्ञानेन्द्र कुमालको उम्मेदवारी छ । नगरपालिका क्षेत्रमा बिहिबार दिनभर पार्टीको चुनावी सभा र घरदैलो गर्ने कार्यक्रम रहेको छ । चुनाव प्रचार समितिले नगरपालिका र गाउँपालिकामा प्रचारप्रसारसँगै प्रचार सामग्री वितरणलाई पनि तीव्र पारेको छ ।

‘आज रातिबाट मौन अवधि सुरु हुने हुँदा प्रचार गर्न बाँकी रहेका स्थानहरुमा विभिन्न समूह बनाएर पुग्दैछौं’, नयाँ शक्ति गोरखाका संयोजक रमेश पोखरेलले भन्नुभयो – ‘नयाँ शक्तिका उम्मेदवारप्रति जनताले देखाएको चासोले उत्साह बढोको छ ।’

जिल्लाको अर्को नगरपालिका पालुङटारमा पनि नयाँ शक्तिको चुनावी प्रचारको व्यस्त कार्यतालिका छ । बिहिबार विहानदेखि नै नगरपालिका क्षेत्रमा प्रचार तथा कोणसभाका कार्यक्रम रहेको निर्वाचन परिचालन समितिले जनाएको छ ।


जिल्लामा रहेका ९ वटा गाउँपालिकामा आज अन्तिम दिन प्रचारलाई व्यापक बनाउने नयाँ शक्ति गोरखाले जनाएको छ । सुलिकोट, सिरानचोक, आरुघाट, अजिरकोट लगायतका गाउँपालिकामा आयोजित कार्यक्रमहरुमा स्थानीय तथा जिल्ला नेताहरु सहभागि भएका छन् । घरदैलो कार्यक्रमसँगै परिचायत्मक कार्यक्रम दिनभर संञ्चालन गर्ने बताइएको छ ।

सुलिकोटमा जितबहादुर घले, अजिरकोटमा गणेश तामाङ, आरुघाटमा हुकुम खड्का र सिरानचोकमा महेश गुरुङ मेयरका गाउँपालिका प्रमुखका उम्मेदवार हुन् । गण्डकी गाउँपालिकमा चुनावी घरदैलो कार्यक्रम सुरु भएको गाउँपालिका प्रमुखका उम्मेदवार कुमार तिवारीले बताउनुभएको छ ।

चुमनुव्रीमा रिन्जीन दोर्जे प्रमुखका उम्मेदवार हुनुहुन्छ । त्यहाँ पनि प्रचारमूलक कार्यक्रम सुरु भएको छ । पुग्न नसकेका स्थानहरुमा प्रचारमा जाने उम्मेदवारका कार्यक्रम रहेका छन् । भिमसेन गाउँपालिकाका गाउँपालिका प्रमुखका उम्मेदवार चिर कुमार श्रेष्ठको नेतृत्वमा घरदैलो अभियान सुरु भएको जनाइएको छ ।

शहिद लखन गाउँपालिकाका प्रमुखका उम्मेदवार गोपाल बाबु श्रेष्ठका अनुसार साँझसम्म गाउँपालिकामा सम्पूर्ण प्रचारको कार्यक्रम सक्ने योजना छ । ‘सबै क्षेत्रमा हामी पुगि सकेका छौं, फेरी एकपटक सबै स्थानमा पुग्ने प्रयास गछौं ’ श्रेष्ठले भन्नुभयो ।