काठमाडौं महानगर सांस्कृतिक सम्पदायुक्त आधुनिक सहर बन्नेछ : संयोजक भट्टराई

२८ वैशाख, २०७४



काठमाडौं – नयाँ शक्ति पार्टीले काठमाडौंलाई सांस्कृतिक सम्पदायुक्त आधुनिक सहर बनाउने घोषणा गरेको छ । आगामी वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत चुनाव प्रचारको अन्तिम दिन बिहिबार काठमाडौंको इटुमबहालमा आयोजित नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले काठमाडौंको योजनाबद्ध विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर यहाँको अव्यवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले समृद्ध, सम्पदायुक्त आधुनिक काठमाडौं महानगर निर्माणका लागि नयाँ शक्तिले अगाडि सारेको योजना सुनाउँदै आधुनिक काठमाडौं निर्माणका लागि बुँदागत रुपमा ४ योजना अगाडि सार्नुभयो ।

यस्ता छन् सम्पदायुक्त आधुनिक महानगर निर्माणका ४ योजना

१. काठमाडौंको मौलिक परिचय ः
उहाँले मूलतः काठमाडौं सहर मौलिक संस्कृति, सभ्यता र सम्पदायुक्त भएकोले अब यसले आफ्नो परिचय दिनुपर्ने धारणा राख्नुभएको छ । काठमाडौंको परिचय प्राचीन सभ्यता भएकोले त्यसको जर्गेना गर्दै सहरलाई आधुनिक बनाउनुपर्ने उहाँले बताउनुभएको छ ।
‘काठमाडौं संसारकै पुरानो मध्येको एउटा सभ्यता नेवारी सभ्यताको सहर भएकोले यसलाई त्यसको केन्द्रको रुपमा विकास र संरक्षण गर्नुपर्छ ।’ संयोजक भट्टराईले भन्नुभयो ।

२. सहरबासीको जीवनशैली र रोजगारी ः
सहरको परिभाषामा केवल भूगोलमात्र नआउने यसले त्यहाँ बसोबास गर्ने मान्छेहरुको जीवनशैली र जीवन यापनको संस्कृतिलाईसमेत प्रतिविम्बित गर्ने भएकोले काठमाडौंलाई रोजगारीको सहर बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
‘काठमाडौंको भाषा, संस्कृतिको संरक्षण गर्दै यहाँ बस्ने मान्छेहरुको जीवन जिउने सुन्दर कला नै यहाँको मौलिक परिचय हो । यसर्थ, मान्छेलाई सहज जीवनयापनका लागि पर्याप्त आवश्यक रोजगारीको व्यवस्था गरिनेछ ।’ उहाँले भन्नुभयो ।

३. औद्योगिक एवं आर्थिक केन्द्र
संयोजक डा. बाबुराम भट्टराईले काठमाडौं समग्र देशकै आर्थिक केन्द्र पनि भएकोले अब बन्ने संघीय स्वरुपको संघ, प्रदेश र स्थानीय तहमा पनि समग्र आर्थिक केन्द्रको रुपमा काठमाडौंलाई विकास गर्नुपर्ने धारणा राख्नुभयो । अहिलेसम्म काठमाडौंले भारत र चीनबिचको आर्थिक कारोबारको हिस्सेदार बन्न नसकेकोतर्फ संकेत गर्दै उहाँले यसलाई भारत र चीनबीचको आर्थिक व्यापारिक केन्द्रको रुपमा स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले काठमाडौंलाई वैकल्पिक रोजगारीको केन्द्र बनाउनुपर्ने उल्लेख गर्दै भन्नुभयो – ‘काठमाडौंलाई उत्पादन र सेवा उद्योगको केन्द्रको रुपमा विकास गर्ने र त्यसको लागि क्षेत्रगत रणनीतिक गुरुयोजना निर्माण गरी काम गरिनेछ ।’

४. सहरको चुस्त व्यवस्थापन
उहाँले मूलतः शासकहरुको व्यवस्थापकीय अक्षमताका कारण काठमाडौं सहर अस्तव्यस्त बनेको भन्दै थला परेको महानगरलाई यहाँका तात्कालीक आवश्यकताहरु पूरा गरेर चुस्त व्यवस्थापन गरी प्राण दिने बताउनुभयो ।
‘महानगर थला पर्नुको कारण स्रोत साधन नभएर होइन’, उहाँले भन्नुभयो –‘भ्रष्टाचार र अनियमितताका कारण अस्तव्यस्त बनेको हो । यसको उपचारका लागि महानगरले नै विभिन्न क्षेत्रगत निर्माणका लागि आफ्नै निर्माण कम्पनी खोलेर ठेक्कापट्टामा हुने कार्टेलिङ, सिन्डिकेट, अनियमितता र संस्थागत रुपमा हुने भ्रष्टाचारलाई निमूर्ल पार्नुपर्छ ।’
उहाँले महानगरका ऐतिहासिक सम्पदा र महत्वले भरिएका भित्री सहरहरुलाई यथारुपमै संरक्षण गरी बाहिरी स्वरुपलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

संयोजक भट्टराईले नयाँ शक्ति समग्र राजनीतिकै विकल्प बनेको प्रष्ट पार्दै अहिलेको राजनीतिक संकटको अग्रगामी निकासका लागि नयाँ शक्तिले देशमा सुशासन कायम गरेर विकास र समृद्धिमा लैजाने लक्ष्य लिएको बताउनुभयो ।


सभालाई सम्बोधन गर्दै महानगरका मेयरका प्रत्यासी पवित्र बज्राचार्यले पुराना पार्टीहरुले विगत लामोसमयसम्म महानगरको नेतृत्व गरेर काठमाडौंलाई अस्तव्यस्त बनाएकोले अब त्यसलाई परिवर्तन गर्नका लागि आफू उम्मेदवार बनेको बताउनुभयो ।

उहाँले सडक, विद्यालय, स्वास्थ्यचौकी जस्ता पूर्वाधारजन्य क्षेत्रहरु स्थानीय तहको कार्यक्षेत्र भएकोले भोलिका दिनमा धेरै काम गर्न सक्ने अवस्था रहेको बताउँदै यसलाई साँच्चिकै बस्न लायकको सहर बनाउने बताउनुभयो ।

त्यस्तै उपमेयर पदकी प्रत्यासी सबिना अर्यालले काठमाडौं सहरको आधारभूत आवश्यकताहरु पनि पूरा हुन नसकेको बताउँदै सेवाग्राहीलाई चुस्त सेवा प्रवाहबाट त्यस्ता आवश्यकता पूरा गर्नु नै पहिलो कार्यभार हुने बताउनुभयो ।

उहाँले आफू काठमाडौंमै जन्मिएर यहिंको माटोमा हुर्केबढेको हुनाले आफूले काठमाडौंको मुख्य समस्या पहिचान गरिसकेको बताउँदै यहाँको मुख्य समस्या अव्यवस्था नै भएकोले सबैभन्दा पहिले चुस्त व्यवस्थापनमार्फत ती समस्या समाधान गर्दै काठमाडौंलाई समतामूलक सहर बनाउने बताउनुभयो ।

चुनावी सभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले सिद्धान्त र समसामयिक राजनीतिक दृष्टिकोणमा एकरुपता भएकै कारण नयाँ शक्तिसँग चुनावी सहकार्य भएको बताउँदै पार्टीले उठाएका संविधान संशोधनलगायतका मागहरु पूरा नुहँदासम्म निरन्तर संघर्षमा रहने बताउनुभयो ।

राजनीतिक पार्टीले चुनावमा भाग नलिंदा राजनीतिक अधिकारबाट बञ्चित हुने भएकोले लोकतन्त्रप्रतिको आस्था र विश्वासकै कारण चुनावमा भाग लिएको समेत उहाँले प्रष्ट पार्नुभयो ।

चुनावी सभालाई नागरिक अगुवा मल्ल के सुन्दरले पनि सम्बोधन गर्नुभएको थियो । उहाँले अहिलेको संविधान अपूर्ण भएकोले संविधान संशोधनको माग गर्दै आन्दोलित संघीय समाजवादी फोरम चुनावमा गएकोले ती मुद्दाहरु जायज भएका कारण त्यो पूरा नहुँदासम्म निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । त्यस्तै उहाँले काठमाडौंको समस्या समाधान गर्नका लागि यहाँको आन्तरिक आप्रवासनको समस्या सबैभन्दा पहिले हल गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

चुनावी सभामा नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टीका केन्द्रीय नेताहरुसमेतको सहभागिता रहेको थियो ।