मुस्लिम राष्ट्रिय परिषद्को ६१ सदस्यीय केन्द्रीय समिति गठन

७ जेठ, २०७४

काठमाण्डौं – नयाँ शक्ति पार्टीनिकट मुस्लिम राष्ट्रिय परिषद्को पूर्ण बैठक सम्पन्न भएको छ । आइतबार काठमाडौंमा सम्पन्न बैठकले परिषद्का संयोजक अब्दुल वाहिदको अध्यक्षतामा ६१ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ । त्यस्तै बैठकले आगामी जेठ ३१ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा खट्ने निर्णय गरेको छ ।

बैठकले विधान मस्यौदा समिति तथा महिला समिति निर्माण गरेको छ । विधान समितिमा अब्दुल वाहिद, निर्दोष अलि, एकबाल हैदर, नसिमा खान, मोविन मुसलमान, अब्दुल हुसेन, तैयब शेख लगायत रहेका छन् । त्यस्तै सबनम खातुनको संयोजकत्वमा महिला विभागसमेत गठन गरेको छ ।

बैठकमा नयाँ शक्ति पार्टी नेपालका संगठन विभाग प्रमुख देबेन्द्र पौडेलले तीन वटा प्रदेशमा भएको चुनावी परिणामले बाँकी ४ वटा प्रदेशको चुनावको आकलन गर्न नसकिने बताउनु भयो । उहाँले चुनाव चिन्हको प्रतिकूलता, ठूला पार्टीबिचको चुनावी तालमेलमा आफूहरु एक्लै चुनावमा लडेको कारण संख्यात्मक परिणाममा अग्रता नआएको प्रष्ट पार्दै दोश्रो चरणको चुनावमा तालमेल, जनताले रुचाइएका अनुहार, जनताबिच सम्वन्ध भएका व्यक्तिहरुलाई उमेदवार बनाउनसमेत आग्रह गर्नुभयो ।

त्यस्तै पार्टीको राष्ट्रिय मामिला सम्बन्ध समितिका संयोजक परशुराम तामाङले सिंगो राज्यको व्यवस्थामा मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले मुस्लिम समुदायलाई संगठन निर्माण सँगसँगै चुनावी अभियानमा समेत सक्रियता देखाई नयाँ शक्तिका उमेदवारहरुलाई विजयी गराउन तदारुकताका साथ लाग्न आग्रह गर्नुभयो ।

बैठकमा रिता गुरुङ, हतिम मिया अन्सारी, अबुल हुसेन, डा. मोहम्मद शकिल, इजहार आलम, जाकिर हुसेन, हसिम अलि सिद्दकी, मो. कमरे आलम, समिम उल्लालगायतले आफ्ना धारणा राख्नुभएको थियो ।