नयाँ शक्तिले छान्यो कञ्चनपुरका तीन नगरप्रमुखमा महिला उम्मेदवार

८ जेठ, २०७४

कञ्चनपुर – आगामी जेठ ३१ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति पार्टी, कञ्चनपुरले जिल्लाका तीन नगरपालिकाको मेयर पदमा महिला उम्मेदवारलाई उठाउने भएको छ ।

गत वैशाख ३१ गते सम्पन्न प्रथम चरणको निर्वाचनमा स्थानीय तहको प्रमुख पदमा निर्वाचित हुने महिलाको संख्या न्यून रहेको छ । स्थानीय तहमा उम्मेदवार चुन्दा निर्वाचन कानूनले नेतृत्व तहमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेपछि दलहरुले महिला उम्मेदवारलाई उपप्रमुख पदमै सीमित गराएका छन् ।

यसैबिच नयाँ शक्ति पार्टीले महिलाहरु पनि नेतृत्वका लागि सक्षम छन् भन्ने सन्देश दिंदै कञ्चनपुरका तीन नगरपालिकाको प्रमुख पदमा महिला उम्मेदवार उठाउने भएको हो ।

जिल्लाका नौ वटा नगरपालिका मध्ये भिमदत्त, पुनर्वास र सुक्लाफाँट नगरपालिकामा महिला उम्मेदवार उठाउने निर्णय भएको नयाँ शक्ति पार्टी, ७ नम्बर प्रदेश संयोजक लीला भण्डारीले बताउनुभएको छ ।

पार्टीले भिमदत्त नगरपालिकामा माया नेगी, पुनर्वास नगरपालिकामा सत्यदेवी चापागाईँ र सुक्लाफाँट नगरपालिकामा द्वारिका कुँवरलाई उम्मेदवार उठाउने निर्णय गरेको छ ।

जिल्लाका बेलौरी, झलारी—पिपलाडी, देधारा चाँदनी, घोडाघोडी, कृष्णपुर, बेलडाँडा र बेदकोट नगरपालिकामा भने उम्मेदवार घोषणको काम गर्ने तयारी भइरहेको प्रदेश संयोजक भण्डारीले बताउनुभयो । साथै बाँकी रहेका नगरपालिकामा पनि महिला उमेद्वारलाई प्राथमिकता दिइने पनि उहाँले जानकारी बताउनुभयो ।