संयोजक भट्टराईले इतिहास सम्झँदै भन्नुभयो- अब छुट्याउनुहोस्, सहिदको सम्मान कसले गरेको छ ? (भिडियोसहित)

८ जेठ २०७४

कञ्चनपुर । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्षले जनयुद्धमा रगतसँग साटिएको हतियार खुफिया एजेन्सीलाई बेच्न लाग्दा आफूले बचाएको खुलासा गर्नुभएको छ । 


सोमबार कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शक्ति पार्टी, नेपालले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका संयोजक भट्टराईले उक्त खुलासा गर्नुभएको हो । ‘सहिदको रगतसँग साटेको हतियार उहाँले खुफिया एजेन्सीलाई बेचिसक्नुभएछ,’ अाफू प्रधानमन्त्री भएको बेलाको घटना स्मरण गर्दै उहाँले भन्नुभयो, ‘सीमा कटाउन नसकेपछि मलाई भन्नुभयो, मेरो आंग जिरिङ्ग भयो, मैले हुँदैन भनेँ र तत्कालीन प्रधानसेनापति छत्रमान गुरुङजीलाई भनेर हतियार छाउनी पठाएँ ।’ उहाँले सहिदको रगतसँग साटिएको हतियार पैसा कमाउन खुफिया एजेन्सीलाई बेच्नेले आफूलाई अनेक आरोप लगाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

पूर्वजनमुक्ति सेनाले सोधेको प्रश्नको उत्तर दिँदै उहाँले व्यक्त गर्नुभएको विचारको अंश
मैले किन माओवादी छाडे ?
यहाँ पूर्वमाओवादी साथीहरुले मलाई लेखेर दिनुभएको छ, तपाईंले किन माओवादी पार्टी छाड्नुभयो भनेर सोध्नुभएको छ । काँग्रेसले र एमालेले भ्रष्टाचार गरे, राष्ट्रघात गरे, यिनीहरुले लोकतन्त्रको पनि रक्षा गर्न सकेनन् भनेर हामीले दश वर्षे जनयुद्ध गर्‍यौं । मैले नै ४० सुत्रीय माग ड्राफ्ट गरेर प्रस्तुत गरेको थिएँ, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका कार्यक्रम सुत्रवद्धरुपमा त्यहाँ प्रस्तुत गरिएको थियो । त्यसैको आधारमा यहाँसम्मको यात्रा तय गरियो ।


संविधानसभाको चुनावमा सबैभन्दा बढी मत ल्याएर संवैधानिक समितिको सभापति हुनुको नाताले मैले सक्दो मेहनत गरेँ । त्यसमा मलाई गर्व छ । संविधान जारी भइसकेपछि जब यसलाई कार्यान्वयन गर्ने समय आयो, जब देशमा राजनीतिक स्थितिरता कायम गरेर देशमा विकास र समृद्धि दिशामा जाने बेला आयो, त्यतिबेला मैले हेरेँ, मेरा पुरानै माओवादी साथीहरु, नेताहरु कांग्रेस र एमालेलाई पनि उछिनेर भ्रष्टाचारी बनेका छन् । अरबौंको भ्रष्टाचार त्यहाँनेर भएको छ । मैले अहिले यहाँ भन्दा अन्यथा नपरोस् तपाईंहरुलाई । बाहिर त मैले भनेको छैन । मैले भित्रै भनेको छु र अब कयौं रुपले सबैलाई थाहा पनि छ ।


शिविरभित्र कसरी भयो भ्रष्टाचार ?
अरबौंको भ्रष्टाचार, जुन हाम्रा पिएलएका जनमुक्ति सेनाहरु थिए, अरबौं रुपैयाँ दिइएको थियो, मसहित भएर दिएका थियौं । किनकी उनीहरुले जुन त्याग र बलिदान गरे, उनीहरुलाई त्यहाँबाट (शिविर) पुनस्र्थापना गरिनुपर्दछ भनेर हामीले दिएका थियौं । तर भित्रभित्रै थाहा लाग्यो, त्यो पैसा भित्रभित्रै केही कमाण्डर र प्रचण्डकै नेतृत्वमा सानो मुट्ठीभर कोटेरीले मलाई समेत थाहा नदिइकन उनीहरुले अरबौं रुपैयाँको अपचलन गरे । त्यो कुरा मैले प्रष्टसँग देखेको थिएँ । जब मुद्दा लगाउने कुराहरु आउन थाले, त्यसपछि उनी विदेशी प्रभुका अगाडि झुक्न थाले । किनकी त्यो मुद्दाबाट बचाइदिने शक्ति भनेका विदेशी प्रभुहरु नै थिए । त्यसैले उनी लम्पसार परिसकेका थिए । त्यो मैले त्यहाँ देखिसकेको थिएँ ।


सरकारमा जाँदा, मन्त्री हुँदा पटक पटक किन सञ्चार मन्त्रालय लिइयो ? किनकी टेलिकम्युनिकेसन त्यहीँ छ र त्यहाँ अरबौं रुपैयाँको कमिसनको खेल त्यहाँनेर हुन्छ । प्रचण्डका विश्वासपात्र मान्छे मात्रै किन सधैं सञ्चार मन्त्रालयमा भए ? मैले देखेँ, त्यहाँ त बीस अर्ब रुपैयाँको भ्रष्टाचार भएको थियो । १०–१० अर्ब भागबन्डामा त्यहाँ झगडा पर्यो र म आफैंले थाहा पाएँ । संविधान जारी हुने बेला आउँदै थियो । उनीहरुको भित्री झगडा छताछुल्ल भएर आइरहेको थियो । मैले देखेँ, यो भन्दा डुंगुङ्ती गन्हाउने कुरा के हुनसक्छ । यस्ता मान्छेहरुबाट विकास र समृद्धि सम्भव हुन सक्छ ।


म निस्कुनको एउटा मुख्य कारण यो थियो । वैचारिक, राजनीतिक लगायतका यसअगाडिका कुरा त यसै महत्वपूर्ण छँदै थियो । तर व्यवहारिक रुपमा कांग्रेस र एमालेका नेताहरुलाई समेत उछिनेर अरबौं अरबको भ्रष्टाचार गर्ने र त्यसलाई लुकाउनको लागि विदेशी शक्तिहरुसँग लम्पसार पर्ने र बाहिर चाहिँ राष्ट्रियताका कुराहरु गर्ने र उल्टै तपाईंहरु जस्ता सिधासादा जनताले, जसले केही पनि गरेको छैन, जसको जीवन खुला छ, तिनीहरुलाई बदनाम गरेर भ्रम छर्ने ? यस्तो पाखण्ड देखिसकेपछि यस्ता पाखण्डीहरुबाट देश बन्दैन, देश बनाउने हो भने अब हिम्मत गर्नुपर्छ भनेर मैले आँट गरेँ ।

प्रचण्डले यसरी बेचेका थिए रगतसँग साटेको हतियार
पिएलएका साथीहरुले प्रश्न दिनुभएको छ मलाई । साथीहरु म तपाईंहरुलाई जवाफ दिन सक्छु । चुनौती गरेर तपाईंका नेताहरुलाई भन्नुहोस् । किनकी पिएलएका निम्ति १५ हजारभन्दा बढी योद्धाहरुले जसरी त्याग र बलिदान गर्नुभयो, बन्दुक खोस्दाखेरि म आफैंलाई थाहा छ, लमजुङको विचौर भन्ने चौकीमा सन् २०५८ साल असार २३ गते भर्खर दरबार हत्याकाण्ड भएको एक महिनापछि आक्रमण भएको थियो । त्यहाँ एउटा बन्दुक जोगाउन छ जना योद्धाहरुले सहादत गरेका छन् । एउटा लडाकू ढल्थिन्, अर्कोले गएर उठाउँथिन्, तिनी ढल्थिन् अर्कोले गएर उठाउँथे । ६–६ जना मान्छे ढलेका थिए । त्यसरी ती बन्दुकहरु, ती राइफलहरुको जगेर्ना गरिएको थियो ।


त्यसरी संरक्षण गरिएका बन्दुकहरु के भयो ? मैले आज यो कुरा भन्नुपर्छ, भित्र भनिसकेको छु, बाहिर पिएलएका साथीहरुले प्रश्न सोधेकोले मैले भन्नुपर्छ, तीमध्ये हामीसँग तीन/चार हजार बन्दुक थियो । जब हामी शान्ति प्रक्रियामा आयौं, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, प्रचण्ड र मसँग उहाँको एकचोटि कुरा भयो । हामीले भन्यौं, त्यतिबेला पनि राजनतन्त्र खारेज भइसकेको थिएन, राजा थिए । अनि हामीलाई लाग्यो, फेरि शान्ति प्रक्रिया भंग भयो र राजतन्त्र आयो भने त फेरि अर्को सशस्त्र युद्ध गर्नुपर्ने हुनसक्छ ।


अनि हामीले भन्यौं, ‘गिरिजाबाबु तपाईंले सात सालतिर के गर्नुभएको थियो ? राजतन्त्रको के भरोसा छ ? केहीगरी यत्रो मान्छे सहादत भएर लडेर ल्याएको बन्दुक हामीले अहिले बुझाइदियौं शान्तिप्रक्रिया, तर भोलि गएर राजतन्त्रले फेरि धोका दियो भने के गर्ने ?’


गिरिजाबाबुलाई म सम्मान गर्न चाहन्छु । मैले बाहिर पनि भनिसकेको छु । उहाँले ‘ठिक छ, राख्नुहोस् तपाईंहरुले । अलिकति बन्दुक राख्नुस् । यसको ठेगान छैन, जतिबेला गणतन्त्र आउला, त्यतिबेला बुझाउनुहोला । गणतन्त्र नआएसम्म केही बन्दुक राख्नुहोस्’ भन्नुभयो उहाँले । मैले संख्या बिर्सिएँ, ४ सयदेखि ७ सयसम्म बन्दुक लुकाएर राख्यौं ।


भिडियोमा हेर्नुहोस् संयोजक भट्टराईको सम्बोधन

पछि जब म प्रधानमन्त्री भएँ, त्यसपछि तपाईंका नेता अहिलेका प्रधानमन्त्रीले एउटा विदेशी खुफिया एजेन्सीलाई सात सय हामीसँग भएको अत्याधुनिक राइफलहरु थिए, उनले बेचेछन् पैसामा । बेचेपछि उनलाई समस्या पर्‍यो । यतै महेन्द्रनगर कहाँ कहाँबाट बाहिर निकाल्नुपर्ने । बाहिर लिएर जानुपर्ने, समस्या पर्‍यो । उहाँले आएर भन्नुभयो, ‘ल प्रधानमन्त्रीजी, समस्या पर्‍यो, तपाईंले सुरक्षा अथवा सेनालाई भनिदिनु पर्‍यो । यतिचाहिँ मैले यसरी बेच्ने भएँ । यसरी तपाईंले बाहिर निकाल्न सहयोग गर्नुपर्‍यो ।’


म खंग्रङ्ग भएँ । लज्ज्ति भएँ । जसका निम्ति यत्रा सहिदहरुले, मेरा छोरीहरुले आफ्नो ज्यान समर्पण गरेर बन्दुक लिएका थिए, एउटा विदेशी खुफिया एजेन्सीलाई आफ्नो देशको कमान्डर भन्ने मान्छेले बेचेर पैसा कमाउन र करोडौं रुपैयाँ लिन मिल्छ ? मिल्दैनथ्यो । मैले मानिनँ । मैले भने, ‘सम्भव छैन ।’ यो कुरा लुक्दैन । कुनै दिन बाहिर आउँछ । यो कलंकले तपाईंलाई खान्छ । म पनि मतियार हुन्छु । हुँदैन । म सक्दिन भनेँ मैले । त्यसो भनेपछि उनी पछि हटे ।


सैनिक संग्रहालयमा छन् ती हतियार
र, त्यसपछि मैले त्यतिबेलाका प्रधानसेनापति छत्रमानसिंह गुरुङलाई ‘ल जर्साब, कुरो यसो छ । गिरिजाबाबु बितेर गइसक्नुभयो । यो कुरा अरुलाई थाहा छैन । प्रचण्ड र मलाई मात्रै थाहा छ । यी बन्दुक छन् । यो तपाईंले कहाँ राख्ने राख्नुस् ।’ अनि उनले भने, ‘हुन्छ हजुर । हाम्रो छाउनीमा सैनिक संग्रहालय छ । त्यहाँ लगेर राख्छु भने ।’ मैले हुन्छ लगेर राख्नुस् भनेँ । अहिले ती बन्दुकहरु छाउनीको सैनिक संग्रहालयमा राखिएको छ । अब भन्नुहोस् तपाईंहरु को देशभक्त ? को क्रान्तिकारी हो भन्नुहोस् । कसले सहिदको सम्मान गर्यो ? तपाईंले छुट्याउनुपर्‍यो । अनि अहिले बाबुराम भट्टराईलाई भनिएको छ, सहिदको अपमान गर्‍यो । पिएलएको अपमान गर्‍यो । छाडेर गयो । अनि छाडेर गयो कि तिनको सम्मानको निम्ति आज बाबुरामले काम गरिरहेको छ ।


मैले पार्टी फुटाएको होइन
यो देशलाई साँच्चिकै राष्ट्रिय स्वाधिनता नबचाउने हो भने यो देशमा विकास र समृद्धि नल्याउने हो भने, गरिबी र बेरोजगारीको अन्त्य नगर्ने हो भने, ६–७ खर्ब बराबरको व्यापार घाटा छ, एउटा सामान्य नुन र तेलसमेत ल्याउन नसक्दिा नाकाबन्दी गरेर घुँडा टेक्नुपरेको अवस्था छ । यसबाट मुक्ति पाउने हो भने हामीले यो देशमा राष्ट्रिय स्वाधीनताको निम्ति देृशलाई आत्मनिर्भर बनाउने कि नबनाउने ? आर्थिक रुपमा सबल बनाउने कि नबनाउने ? देशका युवालाई रोजगारी नदिएर विदेश जाँदासम्म कसरी राष्ट्रिय स्वाधिनताको रक्षा हुनसक्छ ? कसरी साम्यवाद र समाजवाद आउँछ । यही कुरालाई ध्यान दिँदै देशमा एउटा वैकल्पिक शक्ति बनाउनुपर्छ, अब हामीले हिजोका पार्टीहरु भनेर हुँदैन । यी सबै पार्टीहरुभित्र असल मान्छेहरु पनि छन् । खराब मान्छेहरु पनि छन् । समाजमा पनि राम्रा मान्छे छन् ।


त्यसैले म कुनै पार्टी फुटाउनेवाला छैन भनेर म एक्लै निस्केँ । म त्यत्रो हैसियत भएको मान्छे, मैले पनि त गुट बनाएर निकाल्न सक्थेँ होला ? मैले माओवादी टुक्र्याएको त होइन नि ? मैले माओवादीको अंश खोजेको त होइन नि ? म त माओवादी आन्दोलनले एउटा कोर्ष पूरा गर्‍यो, यहाँका नेताहरुले जनतालाई धोका दिँदैछन् । अगाडिको निम्ति अब मैले नयाँ बाटो लिनुपर्छ भनेर म निस्किएँ ।