नयाँ शक्तिले घोषणा गर्‍याे झापाका पाँच नगरप्रमुख उम्मेदवार

९ बैशाख, २०७४

झापा – आगामी जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति पार्टीले झापाका पाँच नगरपालिका प्रमुखमा उम्मेदवार घोषणा गरेको छ । नयाँ शक्ति झापाले प्रदेश नम्बर एक अन्तर्गत झापा जिल्लाका मेचीनगर, दमक, भद्रपुर, अर्जुनधारा एवं विर्तामोड नगरपालिका प्रमुख पदमा उम्मेदवारी घोषणा गरेको हो ।

नयाँ शक्ति झापाले जिल्लाका आठ नगरपालिका मध्ये पाँच नगरपालिकामा आफ्ना उम्मेदवारको नामावली घोषणा गरिएको झापा जिल्ला संयोजक कुमार क्षेत्रीले जानकारी दिनुभयो । यद्यपि नयाँ शक्ति र संघीय समाजवादी फोरम एकल चुनाव चिन्ह लिएर निर्वाचनमा गएका हुनाले दुई दलको संयुक्त संयन्त्रले उम्मेदवारीसम्बन्धी अन्तिम टुंगो लगाउने संयोजक क्षेत्रीले बताउनुभएको छ ।

उहाँका अनुसार मेचीनगर नगरपालिकाको मेयर पदमा पनिता ढकाल र उपमेयरमा कान्छा हुमागाईँको नाम प्रस्ताव गरिएको छ । त्यस्तै मेचीनगरपालिकाको वडा नं. ३ र ६ को अध्यक्ष पदमा कृष्ण कट्टेल र ए.पी लुईंटेलको नाम प्रस्ताव गरिएको छ ।

झापाकै दमक नगरपालिकाको मेयर पदमा शतिस शाह र वडा नं. १ को अध्यक्ष पदमा पुष्पा पौडेल, भद्रपुर नगरपालिकाको उपमेयर पदमा पिंकी कामती र वडा नं. ६ को अध्यक्षमा देवकला प्रसाईँको नाम घोषणा गरिएको छ ।

अर्जनुधारा नरपालिकाको मेयरमा देवकला प्रसाईँ र उपमेयरमा हरि घिमिरेका साथै अध्यक्ष पदका लागि वडा नं. २ मा गोविन्द नेपाल, वडा नं. ३ मा श्याम घिमिरे वडा नं. ५, ७ र ८ मा क्रमशः देव कुमारी चौधरी, देवेन्द्र मैनाली र प्रेम लुईंटेलको नाम घोषणा गरिएको छ ।

त्यस्तै विर्तामोड नगरपालिकको मेयर पदका लागि उदय गुरुङको नाम घोषण गरिएको पनि संयोजक ढकालले जानकारी गराउनु भयो । उम्मेदवारी घोषणासँगै आफूहरु चुनावी प्रचारमा होमिएको समेत उहाँले बताउनुभयो ।