सपनाको विकास होइन, हामी बिपनाको विकास दिन्छौं : संयोजक भट्टराई

कैलालीको हसुलियामा नयाँ शक्तिको चुनावी सभा
९ जेठ, २०७४

कैलाली – आगामी जेठ ३१ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय तह निर्वाचनको प्रचार अभियानमा हिंडेको नयाँ शक्ति पार्टीको केन्द्रीय नेतृत्व कैलालीको हसुलिया पुगेको छ । अभियानकै क्रममा नयाँ शक्तिले हसुलियामा चुनावी सभाको आयोजना गरेको छ । कैलारी गाउँपालिकाको वडा नंं. ४ स्थित हसुलिया के गाउँका सबै मानिस नयाँ शक्तिका संगठित सदस्य हुन् । 

चुनावी सभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीले अरुले जस्तो सपनाको विकास होइन देशमा विपनाको विकास दिने मार्गचित्र प्रस्तुत गरेको बताउनुभएको छ ।

उहाँले पुराना कुरा छोडे मात्र देशले समृद्धि हासिल गर्न सक्ने बताउनुभयो । ‘दरबारमा बसिरहेको भए बुद्ध एउटा साधारण राजा मात्र हुन्थे’ उहाँले भन्नुभयो –‘ जसरी बुद्धले नयाँ सोच र विचारसहित सिदार्थ गौतमबाट बुद्धको पहिचान बनाएर २ अर्ब जनमानसमा पहिचान बनाए, नयाँ शक्तिले पनि नयाँ विचार, जोश, जाँगरसहित अरुले गर्छन् कुरा, हामी गर्छैं पूरा भन्ने सूत्र वाक्य अघि सारेको हो ।’

आमसभालाई सम्बोधन गर्दैै संयोजक डा. भट्टराईले राणाशाही व्यवस्था, पञ्चायती व्यवस्था, राजतन्त्रविरुद्ध लडेको क्षमताले मात्र विकास र समृद्धिको निम्ति नपुग्ने भन्दै आर्थिक समृद्धि र समुन्नत समाजका लागि नयाँ शक्ति पार्टीलाई एक पटक परिक्षण गर्न आग्रह गर्नुभयो ।

उहाँले अबको परिस्थिति र एजेण्डा फेरिएको हुनाले आफ्नो पुरानो थोत्रो र छानो चुहिने घर नछोड्ने यथास्थितिवादी मानसिकतालाई अंगालेर देशको विकास सम्भव नहुनेमा जोड दिंदै भन्नुभयो – ‘कुस्ती खेल्ने बलले चेस खेलमा जित हासिल गर्न नसकिने हुँदा हिमाल पहाड मधेस तराईलाई जोड्ने नयाँ विचारको हाम्रो पार्टीले मात्र थारु समुदायको मुक्ति दिन सक्छ ।’

‘सबै समुदायको बिचमा एकता कायम गरौं र नेपालमा शान्ति र एकता भएपछि मात्र विकास सम्भव हुन्छ’ उहाँले भन्नुभयो – ‘अब सबैको सहमतिमै सविधान संसोधन गरेर अघि बढ्नुपर्छ, नत्र देश अस्थिरतामा जाने खतरा रहन्छ ।’

चुनावी सभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीकी सांसद गंगा चौधरीले सम्बोधन गर्दै थारुको क्लस्टर संविधानमा उल्लेख हुनुपर्ने र थारु बाहुल्यता क्षेत्र भएको कैलाली र कञ्चनपुर क्षेत्र ५ नं. प्रदेशबाट छुट्टिन नहुनेमा जोड दिनुभयो ।

उहाँले थारु समुदाय भूमिपुत्र र भूमिको मालिक भइकन पनि सबैभन्दा गरिब हुनु, कमैया सुकुम्बासी भएर बस्नुपर्ने चिन्ताको विषय भएको बताउँदै थारु समुदायको पहिचान र अधिकारका पक्षमा रहेको पार्टीलाई मात्र भोट दिनुपर्ने बताउनुभयो ।

सांसद् चौधरीले यो चुनाव आफ्नो गाउँघर र समुदायको नियम कानून बनाउने आफ्नो अधिकार स्थापित गर्ने चुनाव भएकोले कसैले पनि एक चोक्टा सिकार र एक गिलास दारुमा भोट बेच्न नहुनेमा सचेत गराउनुभयो ।

चुनावी सभालाई सम्बोधन गर्दै नयाँ शक्तिकी नेतृ करिष्मा मानन्धरले सम्बोधन गर्दै राजनीति सुधार्ने आम जनताकै कर्तव्य भएको बताउनुभयो । उहाँले अहिले पनि हातमुख जोर्नु नै मुख्य समस्या भएको बताउँदै त्यसैका लागि देशका युवाशक्ति विदेशिनु लज्जास्पद भएकोले त्यो अवस्था परिवर्तन गर्नु नै अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो ।

कार्यक्रममा स्थानीय कलाकारहरुले देशको राजनीतिक बेथितीलाई झल्काउने गीत संगीतसहित थारु संस्कृति झल्काउने गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।