कैलालीको जोशिपुरमा नयाँ शक्तिको सांस्कृतिक कार्यक्रम

९ जेठ, २०७४

कैलाली – नयाँ शक्ति पार्टीले चुनावी प्रचार अभियानका क्रममा मंगलबार बेलुका कैलाली जिल्लाको जोशिपुर गाउँपालिकामा सन्ध्याकालीन सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा स्थानीय कलाकारहरुले थारु संस्कृति झल्किने गीतसंगीत तथा नृत्य प्रस्तुत गरेका छन् ।

बेलुकी अबेलाासम्म चलेको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पुराना राजनीतिक शक्तिलाई जनताले पटकपटक हेरिसकेको तर, ती पार्टीहरु भ्रष्टाचारको दलदलमा डुबेकाले जनताबाट टाढिइसकेको बताउँदै अबको विकल्पको रुपमा नयाँ शक्ति आएको बताउनुभयो ।

उहाँले थारु समुदाय आफ्नो हक, अधिकारको लागि एकजुट हुनुपर्नेमा धेरै टुक्राटुक्रामा विभाजित भएकोमा असन्तुष्टि जनाउँदै सबै थारु समुदाय आफ्नो अस्तित्व रक्षाका लागि एकताबद्ध हुनुपर्ने आवश्यकतामा जोड दिंदै भन्नुभयो – ‘सबै उत्पीडित समुदाय एक नभएसम्म लडाईं जितिदैन ।’

थारु समुदायको ठूलो त्याग र हजारौंको सहादतबाट अहिलेको परिवर्तन संभव भएको बताउँदै संयोजक भट्टराईले थारु समुदायको बारेमा बोल्ने मान्छे नभएकै कारण जारी संविधानमा थारु समुदाय सबैभन्दा बढी ठगिएकोले नयाँ शक्ति यो समुदायको पक्षका लागि खडा भएको प्रष्ट पार्नुभयो ।

उहाँले भीम मल्लको इतिहासको चर्चा गर्दै यो देशमा सत्य र न्यायको पक्षमा उभिने मान्छे प्रताडित हुने गरेकोमा दुःख व्यक्त गर्दै जस्तो सुकै अवस्थामा पनि आफू सत्य र न्यायको पक्षमा, उत्पीडित समुदायको पक्षमा उभिने प्रतिबद्धतासमेत जनाउनुभयो ।

उहाँले समाजमा त्यही न्याय स्थापित गर्ने चाहना राखेको बताउँदै उपस्थित जनसमुदायलाई आग्रह गर्नुभयो – ‘तपाईंहरु पनि सत्य र न्यायको पक्षमा तपाईंहरु उभिनुहोस् हामी साथ दिन सधैं तयार छौं ।’
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद् गंगा चौधरीले ४० लाख थारुको हक, अधिकार र पहिचानका लागि १०/१५ वर्षसम्म आन्दोलन गरेको स्मरण गर्दै अहिले थारु समुदाय पनि विभिन्न दलहरुमा बाँडिएकाले अब आफ्नो अस्तित्व जोगाउनकै लागि पनि थारु समुदाय एकै ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले नयाँ शक्ति पार्टीले हिमाड, पहाड, तराई, थरुहट जोड्दै त्यहाँका उत्पीडनमा परेका थारु, मधेशी, जनजातिलाई राष्ट्रिय मूल प्रवाहमा ल्याउनेसमेत प्रष्ट पार्नुभयो । नयाँ शक्तिको चुनावी अभियान अन्तर्गत विगत केही दिनदेखि संयोजक डा. बाबुराम भट्टराईलगायतका केन्द्रीय नेताहरु पश्चिम नेपालको भ्रमणमा हुनुहुन्छ ।