कैलालीको भजनीमा नयाँ शक्तिको चुनावी सभा

१० जेठ, २०७४

कैलाली – नयाँ शक्ति पार्टीले चुनावी प्रचार अभियानका क्रममा बुधबार कैलाली जिल्लाको भजनी नगरपालिकामा चुनावी सभाको आयोजना गरेको छ । चुनावी सभालाई सम्बोधन गर्दै पार्टीका संयोजक डा. बाबुराम भट्टराईले देशमा चुनावी मौसम सुरु भएसँगै पुराना पार्टीहरुले आम मतदातालाई प्रलोभनमा पारि मत किन्ने र डरधम्की एवं त्रासपूर्ण वातावरण सिर्जना गर्न लागेको भन्दै न्यायप्रेमी आम मतदाता त्यसप्रति चनाखो रहनुपर्ने बताउनुभएको छ ।

उहाँले नयाँ शक्ति सधैं न्याय र सत्यको पक्षमा लड्ने प्रष्ट पार्दै भन्नुभयो – ‘हामी जे भन्छौं, त्यो पूरा गर्छांै यदि पूरा गरेनौं भने तपाईहरुले जे दण्ड दिनुहुन्छ भोग्न तयार छौं ।’

संयोजक भट्टराईले इतिहासमा सबै पार्टीहरुले परिवर्तनको लागि योगदान दिएको चर्चा गर्दै भन्नुभयो – ‘हामी कसैको आलोचना गर्दैनौं । नेपाली कांग्रेसले राणाशाहीको अन्त्य गर्न संघर्ष गरेकै हो । एमालेले पञ्चायतलाई ढालेर बहुदलीय व्यवस्था ल्याउन योगदान गर्यो । माओवादी जसमा म आफैं संलग्न थिएँ, त्यसले हतियारको बलमा राजतन्त्र र सामन्तवादलाई जरैदेखि फालेर संघीय गणतन्त्र स्थापना गर्नमा महत्वपूर्ण भूमिका खेल्यो । त्यसको हामी सबैलाई इतिहासमा पुर्याएको योगदानका लागि धन्यवाद दिन चाहन्छौं ।’

उहाँले देशमा व्यवस्था परिवर्तनको प्रक्रिया पूरा भएकोले अबको निकासका लागि नै नयाँ शक्तिको अपरिहार्यता रहेको समेत प्रष्ट पार्नुभएको छ । देश अब विकास र समृद्धितिर लम्किरहेको बताउँदै उहाँले त्यसका लागि नयाँ सोंच एजेण्डासहितको राजनीतिक पार्टी आवश्यक भएकोले नयाँ शक्तिको जन्म भएको पनि उल्लेख गर्नुभयो ।

संयोजक भट्टराईले भजनी बजारको अव्यवस्था र अभावलाई संकेत गर्दै देशका गाउँघर, सहरबजारमा सुव्यवस्था ल्याउनको लागि आर्थिक अवस्था फेर्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले राजनीति नसुध्रिए सम्म सामाजिक आन्दोलनले मात्र देशको विकास नहुने बताउँदै सबै समुदायमा रहेका सक्षम र सचेत मान्छेहरु अगाडि बढेर देशलाई विकल्प दिनुपर्ने प्रष्ट पार्नुभयो ।

‘हामीसँग सबै स्रोत साधन छ, अब सहि राजनीतिक नेतृत्व भयो भने हामी समृद्धि हासिल गर्न सक्छौं’ उहाँले देशको विकासका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताउँदै भन्नुभयो – ‘नेपाल हिमाल, पहाड तराई मधेशले जोडेको मुलुक हो । हामी सधैं झैझगडा गरेर बस्यौं भने यो देशको विकास हुँदैन, त्यसैले सबै मिलेर बस्नुपर्छ । सबैले बराबर अधिकार पाउनुपर्छ ।’

उहाँले नेपालको राजनीति भ्रष्टाचारउन्मुख भएकोप्रति असन्तुष्टि जनाउँदै समाजमा क्यान्सरको रुपमा रहेको भ्रष्टाचारको अन्त्य नभएसम्म देशको प्रगति नहुने बताउनुभयो । ‘जबसम्म राजनीतिबाट भ्रष्टाचारको क्यानसर अन्त्य हुँदैन, देशका सदाचार र सुशासन कायम हुन सक्दैन’ उहाँले भन्नुभयो – ‘हामी यसको समूल अन्त्य गरी सदाचार र सुशासनयुक्त देश बनाउन चाहन्छौं । हामी भ्रष्टाचार गर्दैनौं भ्रष्टाचारीलाई सहँदैनौं ।’

चुनावी सभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीकी सांसद् गंगा चौधरीले पुराना पार्टीहरुले थारु समुदायलाई भोट बैंकको रुपमा मात्रै व्यवहार गरेको भन्दै उनीहरुले सुकुम्बासीहरुलाई लालपूर्जा दिन्छौं भनेर झूटो कुरा बोलिरहेको बताउनुभयो । उहाँले नयाँ शक्ति पार्टीले हिमाड, पहाड, तराई, थरुहट जोड्दै त्यहाँका उत्पीडनमा परेका थारु, मधेशी, जनजातिलाई राष्ट्रिय मूल प्रवाहमा ल्याउनेसमेत प्रष्ट पार्नुभयो ।

त्यस्तै नेतृ करिष्मा मानन्धरले सभालाई सम्बोधन गर्दै यो चुनाव स्थानीय सरकारको चुनाव भएको हुनाले राम्रो र विश्वासिलो मान्छेलाई चुनेर पठाउन सबैलाई अनुरोध गर्नुभयो । नेतृ मानन्धरले महाभारतमा उल्लेखित कौरव र पाण्डवको प्रसंग कोट्याउँदै भन्नुभयो – ‘जसरी महाभारतमा कौरव सत्तामा थियो र पाण्डवलाई जंगलमा धपाएर पनि नपुगेर जंगलमै मार्न अनेक प्रयास गरेको थियो, त्यसैगरी पुराना सत्तासीन दलहरु चुनावको मुखमा नयाँ शक्तिलाई पाण्डवको रुपमा व्यवहार गरिहेका छन् ।’ नयाँ शक्तिले पुराना पार्टीहरुको व्यवहारलाई चुनौतिकै रुपमा लिएर अघि बढ्नेसमेत उहाँले प्रष्ट पार्नुभयो ।

त्यस्तै सभामा नयाँ शक्ति पार्टीको तर्फबाट भजनी नगरपालिकाको मेयरका उम्मेदवार डिल्लीराज जोशीले सम्बोधन गर्दै भजनी नगरपालिकाको विकास र समृद्धिको योजना सुनाउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यको असुविधाका कारण गाउँबासीको जीवन दुष्चक्रमा फसेको भन्दै आफूले त्यसको उचित निकासका लागि पहल गर्ने र आर्थिक समृद्धिका लागि आधुनिक कृषि परियोजना लागू गर्ने बताउनुभयो ।

नयाँ शक्तिको चुनावी अभियान अन्तर्गत विगत केही दिनदेखि संयोजक डा. बाबुराम भट्टराईलगायतका केन्द्रीय नेताहरु पश्चिम नेपालको भ्रमणमा हुनुहुन्छ । भजनीमा आयोजित चुनावी सभामा नयाँ शक्तिका सहसंयोजक दुर्गा सोब, ७ नं. प्रदेश संयोजक लीला भण्डारी तथा उत्प्रेरक भीम कडायतलगायतका केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुले थारु संस्कृति झल्काउने गीतसंगीत, नृत्य लगायत सांस्कृतिक झाँकीहरु प्रस्तुत गरेको छन् ।