कैलालीमा संयुक्त उम्मेदवार छान्दै नयाँ शक्ति र संघीय समाजवादी फोरम

११ जेठ, २०७४

कैलाली – नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालको जिल्लास्तरीय संयुक्त चुनावी संयन्त्रले आगामी जेठ ३१ गते हुन गइरहेको दोस्रो चरणको स्थानिय तह निर्वाचनका लागि कैलाली जिल्लाका स्थानीय तहहरुको उम्मेद्वारको टुङ्गो लगाएको छ ।

बिहिबार बसेको समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त बैठकले ४ वटा नगरापालिका र २ वटा गाउँपालिकाको उमेद्वारको टुंगो लगाएको नयाँ शक्ति पार्टी ७ नं प्रदेश संयोजक लिला भण्डारीले बताउनुभएको छ ।

दुई पार्टीको तर्फबाट छनौटमा परेका उमेदवारहरुमा टिकापुर नगरपालिकाको प्रमुख गोवर्धन बि.क. (फोरम) र उप प्रमुख केशपती चौधरी (नयाँ शक्ति), जानकीनगर नगरपालिकाको प्रमुखमा जनक चौधरी (फोरम) र उप प्रमुखमा धना चौधरी (नयाँ शक्ति) रहनुभएको छ ।

त्यसैगरी गौरीगङ्गा नगरपालिकाको प्रमुख खड्क सावद (नयाँ शक्ति) र उप मेयर कौशिला चौधरी (नयाँ शक्ति) तथा भजनी नगरपालिकाका प्रमुख डिल्ली राज जैसी (नयाँ शक्ति) र उप प्रमुख सीता जैसी (नयाँ शक्ति) लाई छनौट गरिएको प्रदेशह संयोजक भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिका अन्तर्गत नयाँ शक्तिले कैलारी गाउँपालिका अध्यक्षमा गंगा चौधरी र उपाध्यक्षमा अनिल चौधरी तथा मोहन्याल गाउँपालिकाको अध्यक्षमा कृष्ण कुमार बोहरा र उपाध्यक्षमा एलिना केसीलाई मैदानमा उतारेको छ ।

एक उपमहानगरपालिका (धनगढी) तथा टिकापुर, घोडाघडी, लम्कीचुहा, भजनी, गोदावरी र गौरीगंगा गरी ६ नगरपालिका तथा जानकी, बडिबर्दगोरिया, मोहन्याल, कैलारी, जोशीपुर र चुरे गरी ६ वटा गाउँपालिकासहित कूल १३ स्थानीय तह रहेको कैलालीमा अन्य स्थानको उम्मेदवारको टुङ्गो छिट्टै लगाइने नयाँ शक्ति पार्टीले जनाएको छ ।