सोलुखुम्बुमा नयाँ शक्तिको चुनावी प्रचार अभियान सुरु

१२ जेठ, २०७४

सोलुखुम्बु – नयाँ शक्ति पार्टी, नेपालले आगामी जेठ ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि सोलुखुुम्बुमा चुनावी अभियान सुरु गरेको छ । चुनावी अभियान सोलुखुम्बुको कोशीपारी सोताङ गाउँपालिकाबाट शुरु भएको नयाँ शक्ति सोलुखुम्बुले जनाएको छ ।

सोलुखुम्बु जिल्लामा रहेका १ नगरपालिका तथा ७ गाउँपालिकामा चुनावी भेला, मतदान अभिमुखिकरण तथा घरदैलो थालिएको छ । पार्टीको केन्द्रयी कार्यकारी सदस्य तथा आर्थिक स्रोत परिचालन विभागका संयोजक सुनिल खड्काको नेतृत्वमा गतिविधि शुरु गरिएको सोलुखुम्बु जिल्लाका संयोजक श्याम क्षेत्रीले जानकारी दिनुभयो ।

पार्टीले संचालन गर्ने चुनावी अभियानका गतिविधिहरुसम्बन्धी जानकारी गराउन सल्लेरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता खड्काले पार्टीको चुनाव चिन्ह, छोटो अवधिको चुनावी तयारी तथा अन्य कारणले पहिलो चरणमा पार्टीले संख्यात्मक रुपमा भन्दा गुणात्मक रुपमा उपलब्धि हासिल गरेको बताउनु भयो ।

उहाँले दोस्रो चरणको निर्वाचनमा नयाँ शक्तिले सम्मानजनक परिणाम हासिल गर्ने बताउँदै नयाँ शक्ति विकास र समृद्धिको नयाँ अवधारणाका साथ समृद्धिको बाटोमा अघि बढेकाले जनता यसतर्फ आकर्षित भएकोसमेत प्रष्ट पार्नुभयो ।

नयाँ शक्तिले सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षको उम्मेदवारमा मुनिन्द्र बस्नेतलाई उठाउने निर्णय समेत गरेकोे संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।