लडाइँ हारेको सेनाले धेरै सिक्छ: संयोजक भट्टराई 

१३ जेठ २०७३

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचन अन्तरगत पहिलो चरणमा भएको निर्वाचनमा काठमाडौंका उम्मेदवारलाई लडाइँ हारेको सेनाको संज्ञा दिँदै नआत्तिन आग्रह गर्नुभएको छ । नयाँ शक्ति पार्टी, नेपाल काठमाडौं जिल्ला परिषद्ले आयोजना गरेको चुनावी समीक्षा छलफलमा संयोजक भट्टराईले लडाइँ हारेको सेनाले नै धेरै कुरा सिक्ने र अन्तिममा युद्धमा विजय हासील गर्ने भन्दै खेल हारेको नभई अहिलेसम्म नयाँ शक्ति पार्टी क्वाटर फाइनलमा प्रवेश गरेको बताउनुभयो । भट्टराईले अब हुने संघ, प्रदेशको चुनावमा सेमिफाइनल हुँदै फाइनल समेत जित्ने दाबी गर्नुभएको छ । 

“जता काफल पाक्यो, उतै चरी नाच्यो” भनेजस्तै पार्टी परिवर्तन गर्नेहरुको झुण्ड बालुवाको घर जस्तै हुने उहाँले बताउनुभयो । चुनाव चिन्ह लगायतका कारण प्रतिकुल अवस्थामा लडिएको चुनावले निराश होइन मनोबल बढाएको उहाँले बताउनुभयो । स्थानीय तह निर्वाचनलाई नयाँ शक्ति पार्टीले विउ छर्ने अभियानको रुपमा लिएको बताउँदै उहाँले भन्नुभयो -  'विऊ केही उम्रन्छ केही बिग्रन्छ, यसमा धेरै दुखित हुनु पर्दैन ।'

संयोजक भट्टराईले स्थानीय चुनावमा काँग्रेस, माओवादी, एमाले गतिलो पार्टी भएर नभई भरपर्दो विकल्प नदेखेर जनताले भोट दिएको तर्क गर्नुभयो । यो चुनावले पार्टीलाई स्थापित बनाउने काम गरेको र जनतासम्म पार्टीको विचारलाई पुर्‍याउने सञ्जाल निर्माण भएको उल्लेख गर्दै उहाँले यही नै उपलब्धि भएको पनि संयोजक भट्टराईले बताउनुभयो । अबका दिनमा हामी कसरी वैकल्पिक राजनितिक शक्ति हौं भन्ने कुरा बुझाउँदै जनताले दिएको मतको सम्मान गर्दै जनताका सरोकारमा हातेमालो गर्दै अघि बढ्न उहाँले आग्रह पनि गर्नुभयो ।

समीक्षा छलफलमा काठमाडौं जिल्लाका नगरपालिकाहरू: किर्तिपुरबाट शुभलक्ष्मी शाक्य, नागार्जुनबाट प्रताप दानी, तारकेश्वरबाट बासु फुँयाल, दक्षिणकालीबाट आशा तामाङ, कागेश्वरी-मनोहराबाट विश्वराम केसी, शंकरापुरबाट भोटु खनाल, गोकर्णेश्वरबाट अञ्जना श्रेष्ठ, टोखाबाट अमृत कुइँकेलले आ–आफ्नो नगरपालिकाको रिपोर्टिङ गर्नुभएको थियो भने र काठमाडौं महानगरपालिकाबाट सबिना अर्यालले चुनावी अवस्था, मतपरिणामको बारेमा बताउनुभएको थियो । काठमाडौं जिल्ला उत्प्रेरक हिसिला यमी, संगठन विभाग प्रमुख देबेन्द्र पौडेल, काठमाडौं जिल्ला संयोजक इश्वर रिजाल, आंगिक संगठन प्रमुख कुमार पौडेल, महानगर संयोजक शोभा बज्राचार्य तथा सह-संयोजक पञ्चलाल महर्जन लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।