नयाँ शक्ति मकवानपुरको चुनावी समीक्षा बैठक सम्पन्न

१३ जेठ, २०७४

हेटौंडा – नयाँ शक्ति पार्टी मकवानपुरको चुनावी समीक्षा बैठक सम्पन्न भएको छ । शनिबार हेटौंडामा सम्पन्न बैठकले गत वैशाख ३१ गते सम्पन्न प्रथम चरणको स्थानीय तह निर्वाचनमा मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिंदै पुनः घरदैलो अभियान संचालन गर्ने निर्णय गरेको छ । 

त्यस्तै बैठकले संघीय स्वरुपमा निर्माण गरिएको नयाँ स्थानीय तहको संरचना अनुसार पार्टीको संगठन निर्माण गर्ने र आगामी जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रदेश नं. १ र २ का जिल्लास्थित स्थानीय तहहरुमा प्रचारात्मक अभियान संचालन गर्न सहयोग गर्ने निर्णय गरेको नयाँ शक्तिका मकवानपुर जिल्ला संयोजक प्रल्हाद लामिछानेले बताउनुभएको छ ।

बैठकलाई सम्बोधन गर्दै नयाँ शक्ति ३ नं. प्रदेशका सहसंयोजक सोनाम सिं स्याङतानले नयाँ शक्तिले चुनाव जित्नका लागि मात्र नलडेको प्रस्ट पार्दै पार्टी निर्वाचनमार्फत जनताबाट अनुमोदित भएको बताउनुभयो । जिल्ला संयोजक प्रल्हाद लामिछानेले नयाँ शक्तिले अब फेरि नयाँ ऊर्जाका साथ संगठन निर्माणका लागि घरदैलो अभियान संचालन गर्ने बताउनुभयो ।

समीक्षा बैठकमा प्रकाश थोकर, विवेक वाइबा, राजकुमार भेटुवाल, जीवनमान मोक्तान, अविरल थिङ, ज्ञानेन्द्र लामिछानेलगायतले बोल्नुभएको थियो ।