बारामा उम्मेदवार छान्दै नयाँ शक्ति

१६ जेठ, २०७४


सिमरा – दोस्रो चरणको स्थानीय तह निर्वाचनको सरगर्मी बढ्दै गर्दा नयाँ शक्ति बाराले जिल्लाका स्थानीय तहमा उम्मेदवार छनौट प्रक्रिया आरम्भ गरेको छ । जिल्लाले यहाँका उपमहानगरपालिका, नगरपालिका तथा केही गाउँपालिकाहरुमा उम्मेदवार छनौट सुरु गरेको नयाँ शक्ति पार्टीका बारा जिल्ला संयोजक सुशिल यादवले जानकारी दिनुभयो ।

सोमबार उम्मेदवारको अन्तिम टुंगो लगाउन बस्ने भनिएको नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको जिल्लास्तरीय संयुक्त चुनावी संयन्त्रको बैठक आगामी जेठ ३१ गतेका लागि तोकिएको चुनावको मिति अागामी असार ९ गते सरेकाे हुनाले केही दिनका लागि स्थगित भएकोसमेत संयोजक यादवले बताउनुभयो ।

उद्यपि नयाँ शक्ति पार्टीले केही स्थानीय तहमा भने उम्मेदवार छनौट सुरु गरिसकेको छ । पार्टीले जिल्लास्थित दुई उपमहानगरपालिका मध्ये कलैया उपमहानगरपालिका उमरावती यादव र मोहम्मद समीरलाई अगाडि सारेको छ भने जीतपुर सिमरा उपमहानगरपालिकामा गीता कंडेल र जीवन कालिकोटेको नाम अग्र पंक्तिमा राखेको छ ।

त्यसैगरी जिल्लाका पाँच नगरपालिकाहरुमध्ये निजगढ नगरपालिकामा जोशिमाया तामाङ तथा महागढिमाई नगरपालिकामा जुनेद आलाम र सन्तोष गुप्ताको नाम सिफारिस गरेको छ । त्यस्तै ११ गाउँपालिकाहरुमध्ये परसौनी गाउँपालिकामा रम्भादेवी तथा भिखारी गुप्ताको नाम अगाडि छ भने फेटा गाउँपालिकामा विरेन्द्र पाण्डेलाई अगाडि सारिएको छ ।

पार्टीले देउताल गाउँपालिकामा प्रतिमादेवी र जयलाल यादवको नाम अग्र पंक्तिमा छ भने श्रवणपुरमा अशोक यादवको नाम चर्चामा छ । त्यस्तै परवानीपुर गाउँपालिकामा ओम बाबु गुप्ता र प्रभु पटेलको नाम चर्चामा रहेको नयाँ शक्तिले जनाएको छ ।

टाँगिया बस्तीको सास्ती

जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ स्थित टाँगिया बस्ती पूर्वपश्चिम राजमार्गबाट केवल ५ किलोमिटर दक्षिणमा रहेको छ । यो बस्ती बहुचर्चित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको मुख्य भाग हो । यो गाउँमा न त ल्याण्डलाइन टेलिफोन नै छ, न त दूरसंचारको नेटवर्कले नै काम गर्छ । यहाँ न त बिजुलीको नै व्यवस्था छ, न त घरघरमा खानेपानीको धारा नै ।

१ हजार ४ सय ७६ घरधुरी रहेको यो गाउँ ठूलो परियोजना संचालन क्षेत्र भएका कारण कुनै पनि ठूला विकासका योजना नपरेको यहाँका स्थानीयबासी बताउँछन् । उनीहरुको एउटै माग छ, यदि बस्तीलाई स्थानान्तरण गर्ने हो भने यथाशक्य चाँडो सम्पन्न गरियोस् होइन भने सरकारले आफ्नै देशमा दोस्रो दर्जाका नागरिक नबनाओस् ।

यो गाउँबाट नयाँ शक्ति पार्टीका तर्फबाट प्रेम बहादुर गोले वडा अध्यक्षको दाबेदार हुुनुहुन्छ । पूर्व गाविस अध्यक्ष तथा समाजसेवी गोले भन्नुहुन्छ – ‘हामीलाई यहाँ राज्यले निकै ठूलो विभेद गरेको छ । हामीलाई कि त चाँडो भन्दा चाँडो नापीसहित लालपूर्जा, बाटोघाटो, बिजुली, पानी, विद्यालय, संचार सबै सुविधासहितको बस्ती विकास गरी स्थानान्तरण गर्नुपर्यो । यदि विमानस्थल नबन्ने हो भने तत्काल नापी गरेर हामीलाई व्यक्तिगत जग्गाधनी पूर्जा दिनुपर्यो र राज्यको न्यूनतम् सुविधा हामीलाई पनि दिनुपर्यो ।’

वडा अध्यक्षका उम्मेदवार गोलेले आफू स्थानीयबासीको तिनै आवश्यकता सम्बोधन गर्नका लागि नै चुनावी मैदानमा उत्रिएको बताउनुभयो । टाँगिया बस्तीबासीहरु सरकार, स्थानीय प्रशासन, राजनीतिक दलहरु सबैले आफूहरुलाई उपेक्षा गरेकोले त्यहींको स्थानीय जो यी सबै समस्यासँग साक्षात्कार छ, उसैलाई आफ्नो नेता बनाउने अभियानमा लागेको बताउँछन् ।

नयाँ शक्ति पार्टी बाराले जिल्लाका स्थानीय तहहरु मध्ये केही तहहरुमा उम्मेदवार अगाडि सारेको भए तापनि संघीय समाजवादी फोरम र नयाँ शक्तिबिचको संयुक्त चुनावी संयन्त्रले उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउने नयाँ शक्ति पार्टीका बारा जिल्ला उत्प्रेरक हरि चौलागाईं लालकिरणले बताउनुभएको छ ।