रौतहटमा नयाँ शक्तिको चुनावी भेला तीव्र

१७ जेठ, २०७४

चन्द्रनिगाहपुर – दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा नयाँ शक्ति रौतहटले चुनावी भेला तथा संगठन निर्माणलाई तीव्र बनाएको छ ।

नयाँ शक्तिले मौलापुर गाउँपालिकामा राजन साहको संयोजकत्वमा १०१ सदस्यीय गाउँ कमिटी निर्माण गरेको छ भने गुजरा गाउँपालिकामा हविबुर रहमानको संयोजकत्वमा ५१ सदस्यीय गाउँपालिका कमिटी निर्माण गरेको नयाँ शक्तिले जनाएको छ ।

त्यसैगरी जिल्लाकै विजयपुर गाउँपालिकामा बिएल तामाङको संयोजकत्वमा ३१ सदस्यीय गाउँकमिटी तथा राजपुर गाउँपालिकामा कृष्ण नन्दन रामको संयोजकत्वमा गाउँ कमिटी निर्माण गरेको रौतहट जिल्लाका उत्प्रेरक वाहिद अन्सारीले बताउनुभएको छ ।

चुनावी तयारीकै क्रममा जिल्लाका सबै क्रियाशील राजनीतिक दलहरुले धमाधम उम्मेदवार चयन गर्दैगर्दा नयाँ शक्ति पार्टीले पनि रौतहट जिल्लाका स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया सुरु गरेको छ ।

नयाँ शक्ति पार्टीको तर्फबाट यहाँको गरुडा नगरपालिकामा राम प्रसाद यादव मेयर पदका लागि आकांक्षी देखिएका छन् । त्यसैगरी मौलापुर गाउँपालिकामा रामअसरे कुसवाह, राजपुर गाउँपालिका अध्यक्षमा समीरुल्ल हक, इशनाथ गाउँपालिकामा जय प्रकाश साह, परोहा गाउँपालिकामा नूर सायद आलम, गुजरा गाउँपालिकामा शेख बद्रुदीन तथा माधव नारायण गाउँपालिकामा चन्द्र भुषण यादवको नाम अग्र पंक्तिमा रहेको छ ।

त्यसैगरी दुर्गा भगवती गाउँपालिकामा रोशन झा चर्चामा रहेका छन् भने फतुवा विजयपुर गाउँपालिकामा राधाकृष्ण मैनालीको नाम अगाडि सारिएको नयाँ शक्ति पार्टी रौतहटका संयोजक किरण कुमार साहले बताउनुभएको छ ।

नयाँ शक्तिले आफ्नोतर्फका उम्मेदवारहरुलाई अगाडि सारेको भए तापनि संघीय समाजवादी फोसमसँगको चुनाव चिन्ह साझेदारीका कारण सबै स्थानीय तह र वडाहरुको उम्मेदवारको अन्तिम नामावली भने संयुक्त रुपमा दुई दलको संयुक्त निर्वाचन संयन्त्रले तय गर्नेसमेत नयाँ शक्तिका जिल्ला संयोजक साहले बताउनुभयो । रौतहट जिल्लामा ३ नगरपालिका र १३ गाउँपालिकासहित १६ स्थानीय तह रहेका छन् ।