सर्लाहीमा नयाँ शक्ति चर्चामा

१७ जेठ, २०७४

सर्लाही – नयाँ शक्ति सर्लाहीले चुनाव प्रचार अभियान तीव्र बनाएको छ । पार्टीले जिल्लाका १० नगरपालिका तथा ७ गाउँपालिकाहरुमा चुनावी अभियान संचालन गरेको हो । नयाँ शक्ति सर्लाहीले चुनावी अभियान अन्तर्गत हरिवन नगरपालिकाका विभिन्न वडाहरुमा चुनावी भेला तथा संगठन निर्माणको कामलाई तीव्रता दिएको छ ।

नयाँ शक्तिले मंगलबार हरिवन नगरपालिकाको ताइवान बस्ती, अत्रौली, नयाँरोड, शासापुर, तीनघरे, पकडगाछी, घुर्कौली लगायतका स्थानहरुमा वडा वडा कमिटी निर्माण गर्नुका साथै स्थानीय वडाबासीहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

छलफलकै क्रममा मंगलबार पकडगाछी र घुर्कौली गाउँका स्थानीयसँग अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रममा नयाँ शक्ति पार्टीको तर्फबाट हरिवन नगरपालिकाका लागि प्रस्तावित नगर प्रमुखका उम्मेदवार जंग बहादुर महतोले हरिवन नगरपालिकाको विकास र समृद्धिको योजना सुनाउनु भएको थियो ।

छलफलका क्रममा नयाँ शक्ति पार्टी सर्लाही जिल्ला उत्प्रेरक माया बलले नयाँ शक्ति सबैको आकर्षण बनेकोले अब नयाँ शक्तिकै भिजन अनुसार देशको प्रगति र समृद्धि हासिल हुने बताउनुभयो । उहाँले नयाँ शक्तिले सबै समुदायबीचको एकतालाई मजबुद बनाउने र अल्पसंख्यक एवं सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने समेत बताउनुभयो ।

त्यस्तै नयाँ शक्ति २ नम्बर प्रदेशका युवा संयोजक मेघराज फूँयालले नयाँ शक्ति अबको निर्विकल्प राजनीतिक शक्ति भएको बताउनुभयो । हरिवन नगरपालिकाका नगर संयोजक मनोज साह नयाँ शक्ति निर्विकल्प वैकल्पिक शक्ति भएकोले चुनावमा यसका उम्मेदवारलाई अत्यधिक मत दिएर विजयी गराउन मतदातासमक्ष आग्रह गर्नुभयो ।



नयाँ शक्तिले जिल्लाका वागमती नगरपालिका नगर प्रमुखमा टेक बहादुर बल (बाबु) र लालबन्दी नगरपालिक प्रमुखमा मुकुन्दराज काफ्ले, बरथवा नगरपालिका प्रमुखमा सत्यनारायण यादव, हरिपुरवा नगरपालिका प्रमुखमा रामनरेश रामलाई अगाडि सारेको जिल्ला उत्प्रेरक माया बलले बताउनुभयो ।

त्यस्तै ब्रह्मपुरी गाउँपालिका प्रमुखमा शतिस कुमार साह, कौरेना गाउँपालिका प्रमुखमा पंकज चौधरीको नाम प्रस्तावित भएको छ । सबै नगरपालिका तथा गाउँपालिकाहरुको उम्मेदवारको अन्तिम टुंगो भने दुई दलको संयुक्त कार्यदलले लगाउने उत्प्रेरक बलले बताउनुभयो ।

सर्लाही जिल्लामा बागमती, हरिवन, लालबन्दी, ईश्वरापुर, हरिपुरुवा, मलंगवा, हरिपुर, वरहथवा, बरमपुरी एवं गोरइता गरी १० नगरपालिका तथा चन्द्रनगर, कविलाछी, चक्रघट्टा, धनकौली, रामनगर, विष्णुपुर एवं बलरा गरी ७ गाउँपालिका गरी १७ स्थानीय तह इकाई रहेका छन् ।