महोत्तरीमा फैलिंदै नयाँ शक्ति

१८ जेठ, २०७४


जलेश्वर – दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति सरेसँगै नयाँ शक्ति पार्टीले मधेशकेन्द्रीत चुनावी अभियान तीव्र बनाएको छ । गाउँ सहरमा चुनावी भेला तीव्र पारेको नयाँ शक्ति पार्टीले महोत्तरीका विभिन्न गाउँहरुमा चुनावी भेला सम्पन्न गरेको छ । अभियानकै क्रममा एकडारा गाउँपालिका, समसी गाउँपालिका, गोशला नगरपालिका, बर्दिवास नगरपालिका लगायतमा चुनावी भेला सम्पन्न भएको महोत्तरी जिल्लाका उत्प्रेरक डा. सुरेन्द्र यादवले बताउनुभएको छ ।

नयाँ शक्तिले बुधबार पनि जिल्लाका विभिन्न स्थानहरुमा चुनावी भेला आयोजना गरेको हो । अभियान भेलाकै क्रममा एकडारा गाउँपालिकाको मोडुवाहीमा अरिहान मुखियाको संयोजकत्वमा ३१ सदस्यीय वडा कमिटी तथा शंकर साहको संयोजकत्वमा १५ सदस्यीय स्वयम् सेवक परिचालन समिति निर्माण गरेको छ ।

त्यसैगरी जलेश्वर नगरपालिकाको पर्कौलीमा ३१ सदस्यीय वडा कमिटी निर्माण गरेको पार्टीका जिल्ला संयोजक कौशलेन्द्र शर्माले बताउनुभएको छ । मनरा गाउँपालिकाको इटरहवाकट्टीलगायतका विभिन्न गाउँहरुमा नयाँ शक्तिले संगठन विस्तार गरेको जिल्ला संयोजक शर्माले बताउनुभएको छ ।


यहाँका नगरपालिका तथा गाउँपालिकाहरुमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको नयाँ शक्ति पार्टीले जिल्लाका केही स्थानीय तहमा उम्मेदवार प्रस्ताव समेत गरिसकेको छ । जलेश्वर नगरपालिकामा जिल्ला संयोजक कौशलेन्द्र शर्माले प्रमुखमा र पूजा राईले उपप्रमुखमा दाबेदारी प्रस्तुत गर्नुभएको छ भने बर्दिबास नगरपालिकामा तेज प्रसाद अधिकारीलाई प्रमुखमा प्रस्ताव गरेको छ ।

त्यस्तै पिपरा गाउँपालिकामा राम जानकी यादवको नाम अग्रपंक्तिमा रहेको छ भने नयाँ शक्ति पार्टीकै तर्फबाट एकडारा, मनरा, मटिहानी गाउँपालिकाहरुमा क्रमशः महेश यादव, अनिल सिंह र मोहम्मद रयूफको नाम अगाडि सारिएको छ । त्यसैगरी महोत्तरी गाउँपालिकामा दीपेन्द्र झा, बलभा गाउँपालिकामा शिव चन्द्र साह तथा सितापुर भंगाहा गाउँपालिकामा चेत नारायण चौधरीको नाम अगाडि सारिएको जिल्ला संयोजक शर्माले बताउनुभयो ।

नयाँ शक्तिले दुई नगरपालिका तथा केही गाउँपालिकाहरुमा संभावित उम्मेदवारलाई अगाडि सारेको भए तापनि संघीय समाजवादी फोरमसँगको चुनाव चिन्ह साझेदारीका कारण दुवै पार्टीको संयुक्त चुनावी संयन्त्रले स्थानीय तहका उम्मेदवार चयन गर्ने नयाँ शक्तिका संयुक्त वार्ता तथा चुनावी कार्यदलका संयोजक राम कुमार शर्माले बताउनुभयो । उहाँले दुवै दलको सांगठनिक अवस्था, स्थानीय तहको सामाजिक बनोट, उम्मेदवारको सामाजिक लोकप्रियता, राजनीतिक पृष्ठभूमि तथा कार्यकर्ता परिचालन गर्ने क्षमताका आधारमा उम्मेदवार छनौट गरिने बताउनुभयो ।

महोत्तरी जिल्लामा जलेश्वर, गौशाला एवं बर्दिबास गरी ३ नगरपालिका तथा एकडारा, मनरा, महोत्तरी, पिपरा, मटिहानी, लोहारपट्टी, बलभा, समसी, सितापुर भंगाहा, सोनमा, औरही र रामगोपालसहित १२ गाउँपालिका रहेका छन् ।