कपिलवस्तु बाणगंगा नगरपालिकाको मेयरको उम्मेद्वार खनाल

१९ जेठ २०७४

कपिलवस्तु । नयाँ शक्ति पार्टी, नेपाल कपिलबस्तुले दोस्रो चरणको स्थानीय निर्वाचनका लागि उम्मेद्वार चयन सुरु गरेको छ । यसै अन्तरगत बाणगंगा नगरपालिकाका लागि मेयरमा नारायण खनाल र उपमेयरमा लक्ष्मी सारुलाई अगाडि सारेको छ । नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त उम्मेद्वारको घोषणा गरिएको नयाँ शक्ति पार्टी, नेपालका संघीय परिषद सदस्य विष्णुहरी शर्माले बताउनुभयो ।

साथै बाणगंगा नगरपालिकाको वडा नम्बर ४, ७ र ९ मा वडा अध्यक्ष पदको उमेदवारमा क्रमश: अम्बिका राहुल, डाली थापा र गोविन्द बन्जाडेलाई सर्वसम्मत प्रस्ताव गरिएको छ । कपिलवस्तुमा ६ नगरपाालिका र ४ गाउँपालिका रहेका छन् ।

मेयर पदका उम्मेद्वार खनाल वि.सं. २०४१ सालमा नेपाल कम्युनिष्ट पार्टीमा संगठित भई २०४३ देखि २०५९ सालसम्म नेकपा मसालमा बरिष्ठ नेता हुनुभयो । २०५९ देखि २०७१ सालसम्म तत्कालीन नेकपा माओवादी पार्टीको नेता रही २०७२ सालमा वैकल्पिक राजनैतिक शक्तिको निर्माणको क्रममा नयाँ शक्ति पार्टी, नेपालको संस्थापक केन्द्रीय सदस्य रहेर हाल नयाँ शक्ति पार्टी, नेपालको संघीय परिषद सदस्य तथा कपिलवस्तु जिल्ला संयोजक समेत हुनुहुन्छ ।

यसैगरी प्युठान जिल्लाको केन्द्र रहेको प्युठान नगरपालिकाको मेयरमा भगवती सुवेदी र उपमेयरमा सिद्धिमान केसीलाई उठाउने निर्णय गरेको नयाँ शक्ति प्यूठानले बताएको छ । प्यूठानमा २ नगरपालिका र ७ गाउँपालिका रहेको छ ।

त्यस्तै बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा बाबु खाँ पठान र उपमेयरमा जयकुमारी खड्कालाई उमेदवार बनाउने निर्णय गरिएको नयाँ शक्ति बाँकेले जानकारी दिएको छ ।