सोलुखुम्बुका गाउँपालिकाका अध्यक्षका उम्मेदवारहरु छनौट

१९ जेठ २०७४

सोलुखुम्बु । नयाँ शक्ति पार्टी, नेपालले सोलुखुम्बुका गाउँपालिकाका अध्यक्षहरुका उम्मेदवार छनौट गरेको छ । जिल्लाका लिखु पिके, महाकुलुङ, सोताङ, दूधकोशी र दूधकौशिका गाउँपालिका अध्यक्षका उम्मेदवारहरु छनौट गरिसकेको नयाँ शक्तिका आर्थिक स्रोत परिचालन विभागका संयोजक सुनिल खड्काले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवारहरुमा लिखु पिकेमा मुनिन्द्र वस्नेत, महाकुलुङमा रामबहादुर खड्का, सोताङमा प्रेमबहादुर राई, दूधकोशीमा चन्द्रप्रसाद घिमिरे र दूधकौशिकामा मनिकुमार तामाङ रहनुभएको छ । यी क्षेत्रमा बाँकी भएका उपाध्यक्षका उम्मेदवारहरु तथा वडाका उम्मेदवारहरुको छनौट संघीय समाजवादी फोरमसँगको संयुक्त गठबन्धनका तर्फबाट गरिने र त्यसका लागि फोरमसँग छलफल भइरहेको पनि खड्काले जानकारी दिनुभयो ।

एक मात्र नगरपालिका रहेको सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका सहित उमेदवार छनौट गर्न बाँकि रहेका गाउँपालिकाहरुमा नयाँ शक्ति र फोरमको संयुक्त गठबन्धनले टुङ्गो लगाउने खड्काले जानकारी दिनुभयो । उमेदवार छनौट प्रक्रिया सँगसँगै चुनावी प्रचार–प्रसार अन्तरगत घरदैलो अभियान, चुनावी सभाहरु, मतदान अभिमुुखीकरण लगायतका कार्यक्रमहरु सञ्चालन भइरहेको खड्काले जानकारी दिनुभयो ।