यस्तो छ सप्तरीमा नयाँ शक्तिको चुनावी तयारी

२० जेठ, २०७४



राजविराज – नयाँ शक्ति सप्तरीले जिल्लामा चुनावी गतिविधिलाई तीव्र बनाएको छ । पार्टीले जिल्लास्थित नगरपालिका तथा गाउँपालिकामा चुनावी भेला सम्पन्न गरी नगर तथा गाउँपालिकाहरुमा पार्टी कमिटीहरु निर्माण गर्नुका साथै वडा भेलाहरु सम्पन्न गरेको पार्टीका जिल्ला संयोजक छेदी रजकले बताउनुभएको छ ।

पार्टीले चुनावी रणनीति तयार गर्दै जिल्लामा प्रचार प्रसार समिति निर्माण गर्नुका साथै संयोजक रजकको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । त्यसैगरी राजु जयसवालको नेतृत्वमा युवा स्वयम् सेवक समिति निर्माण गरी स्थानीय नगर तथा गाउँपालिकाहरुमा चुनाव प्रचार अभियान आरम्भ गरिएको संयोजक रजकले जानकारी दिनुभयो ।

त्यस्तै पार्टीले जिल्लाका स्थानीय तहहरुमा हुने चुनावी सभाका लागि वक्ता टोलीसमेत चयन गरेको छ । वक्ता टोलीमा जग जीवन राम, शैलेन्द्र कुमार झा, गुवाल देव, राजेश विद्रोही, अमृत साफी, प्रेम नारायण यादव, दिप नारायण साह, मोहम्मद कासिम एवं देव नारायण चौधरी रहनुभएको छ ।

जिल्ला पार्टीले संघीय समाजवादी फोरमसँगको चुनावी सहकार्यका लागि संयोजक रजकको नेतृत्वमा चुनावी वार्ता तथा संवाद कार्यदलसमेत निर्माण गरेको छ । संघीय समाजवादी फोरमसँग चुनावी एकता गरी एकल चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको नयाँ शक्तिले जिल्लाका केही नगर तथा गाउँपालिकाहरुमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार अगाडि सारेको छ ।

पार्टीले खड्ग नगरपालिका प्रमुखमा अबुल हुसैन तथा उपप्रमुखमा रीता चौधरीलाई अगाडि सारेको छ । सुरुङ्गा नगरपालिका प्रमुखमा लक्ष्मी चौधरीको दाबेदारी प्रस्तुत गरेको छ भने राजविराज नगरपालिका प्रमुखमा डम्बर नारायण साह तथा उपप्रमुखमा शोभा देवलाई अगाडि सारेको छ ।

त्यसैगरी डाकेनश्वरी नगरपालिका प्रमुखमा कनकलाल साह तथा उपप्रमुखमा गीता देवी यादवको नाम चर्चामा रहेको छ भने बोदे बरसाइन नगरपालिकामा राम कुमार यादव अग्र पंक्तिमा रहेका छन् । उता जिल्लाकै कंकालनी हनुमान नगरपालिकामा भने नयाँ शक्तिले सरिता यादवको नाम सिफारिस गरेर उपप्रमुखमा दाबेदारी प्रस्तुत गरेको छ ।

त्यस्तै जिल्लाका गाउँपालिकाहरुमा पनि नयाँ शक्तिले उम्मेदवार प्रस्तुत गरेको छ । नयाँ शक्ति सप्तरीले रुपनी गाउँपालिका प्रमुखमा कमला गौतम एवं उपप्रमुखमा तेज नारायण यादवलाई अगाडि सारेको छ । विष्णुपुर गाउँपालिकामा गुलाव देवी, छिन्नमस्ता गाउँपालिका प्रमुखमा सूर्य नारायण मण्डल तथा उपप्रमुखमा प्रमिलादेवखी साह, बेलीचपेना गाउँपालिका प्रमुखमा धनेश्वरी देवी साह तथा कृष्णसागरन गाउँपालिका प्रमुखमा नबुद खलिफालाई अगाडि सारिएको नयाँ शक्ति सप्तरीले जनाएको छ ।

नयाँ शक्तिले जिल्लास्थित केही नगरपालिका तथा गाउँपालिकाहरुमा संभावित उम्मेदवारलाई अगाडि सारेको भए तापनि संघीय समाजवादी फोरमसँगको चुनाव चिन्ह साझेदारीका कारण दुवै पार्टीको संयुक्त चुनावी संयन्त्रले स्थानीय तहका उम्मेदवार चयन गर्ने संयोजक रजकले बताउनुभयो । सप्तरीमा ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तह रहेका छन् ।