सुनसरीमा चुनावी कार्यक्रम तीव्र बनाउँदै नयाँ शक्ति

२० जेठ, २०७४



इनरुवा – दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिंकिँदै जाँदा नयाँ शक्ति पार्टी सुनसरीले चुनाव लक्षित कार्यक्रमलाई तीव्र बनाउँदै लगेको छ । पार्टीले रामधुनी नगरपालिका वडा नं. ८ स्थित डुमराहबाट घरदैलो कार्यक्रमसहित चुनावी प्रचार सुरु गरेको हो ।

पार्टीले बराहा नगरपालिकाका सबै वडाहरुमा वडा भेला सम्पन्न गरी प्रचार अभियान जारी राखेको छ भने जिल्लाका दुई उपमहानगरपालिका इटहरी र धरानमा पनि चुनावी प्रचार प्रसारका लागि व्यापक तयारी भइरहेको पार्टीका जिल्ला संयोजक नरेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभएको छ ।

त्यसैगरी गढी, बर्जु, देवानगञ्ज गाउँपालिकामा वडातहसम्म पार्टी कमिटी निर्माण गरी प्रचार सुरु भएको छ । पार्टीले स्थानीय तहमा चुनावी प्रचार तीव्र बनाउन नगर तथा गाउँपालिका संयोजकको नेतृत्वमा चुनावी परिचालन समिति निर्माण गरेको तथा उमेश थापाको नेतृत्वमा अन्तरपार्टी संवाद समिति निर्माण गरिएको जिल्ला संयोजक बस्नेतले जानकारी दिनुभयो ।

पार्टीले जिल्लाका केही स्थानीय तहहरुमा उम्मेदवारसमेत तय गरेको छ । पार्टीले धरान उपमहानगरपालिकामा रविन गोलेलाई प्रस्ताव गरेको छ भने जिल्लाकै अर्को इटहरी उपमहानगरपालिका प्रमुखमा शम्भु चौधरीलाई प्रस्ताव गरेको छ ।

त्यस्तै रामधुनी नगरपालिका प्रमुखमा राजेश चौधरीको नाम प्रस्ताव गरेको छ भने इनरुवा नगरपालिका प्रमुखमा लक्ष्मी चौधरी तथा उपप्रमुखमा ज्ञानदेव पण्डितलाई अगाडि सारेको छ । त्यस्तै बराहा नगरपालिकामा मेम चाम्लिङको नाम चर्चामा रहेको छ ।

त्यसैगरी जिल्लाका ६ गाउँपालिकाहरु मध्ये गढीमा प्रमोद मेहता, हरिनगरमा नसिब अन्सारी, देवानगञ्जमा जलिल मिया तथा बर्जु गाउँपालिकामा दयालाल चौधरीलाई अगाडि सारेको नयाँ शक्ति सप्तरीले जनाएको छ ।

जिल्लामा इटहरी र धरान गरी २ उपमहानगरपालिका, दुहबी, इनरुवा, रामधुनी एवं बराहा गरी ४ नगरपालिका तथा गढी, बर्जु, देवानगञ्ज, हरिनगरा, कोशी र बोक्राहा गरी ६ गाउँपालिकासहित कूल १२ स्थानीय तह रहेका छन् ।