मोरङमा नयाँ शक्तिको घरदैलोसहित चुनावी प्रचार सुरु

२१ जेठ, २०७४

विराटनगर – दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मतदानको मिति नजिकिँदै गर्दा नयाँ शक्ति मोरङले चुनावी प्रचार अभियान सुरु गरेको छ । जिल्ला पार्टीले यहाँस्थित एक महानगरपालिका, ८ नगरपालिका तथा ८ गाउँपालिकाहरुमा संघीय समाजवादी फोरम (ससफो) सँग संयुक्त उम्मेदवार चयन प्रक्रियासमेत सुरु गरिसकेको जिल्ला संयोजक खेम प्रधानले बताउनुभएको छ ।

पार्टीले पथरी सनिश्चरे, बेलबारी, उर्लाबारी नगरपालिका तथा मेक्लाजुम गाउँपालिकामा दुवै पार्टीका तर्फबाट संयुक्त उम्मेदवार टुंगो लगाएको छ । जस क्रममा पथरी सनिश्चरे नगरपालिका प्रमुखमा नयाँ शक्ति पार्टीका देवराज भण्डारी तथा उपप्रमुखमा ससफोकी खिममाया लिम्बुलाई अगाडि सारिएको छ ।

त्यसैगरी बेलबारी नगरपालिका प्रमुखमा नयाँ शक्तिका प्रताप थापा तथा उपप्रमुखमा ससफोबाट शान्ता मुक्तान तामाङ रहेका छन् भने उर्लाबारी नगरपालिकामा नयाँ शक्तिका मनहरी दाहाललाई अगाडि सारिएको छ ।

त्यस्तै मेक्लाजुम गाउँपालिकामा माधव सञ्जेललाई प्रस्ताव गरिएको छ । विराटनगर महानगरपालिका र बाँकी रहेका नगर तथा गाउँपालिकाहरुमा संघीय समाजवादी फोरमसँग छलफल गरेर छिट्टै उम्मेदवार टुंगो लगाउने नयाँ शक्तिका जिल्ला संयोजक प्रधानले बताउनुभयो ।



पार्टीले जिल्लामा रहेका सबै संघीय परिषद् सदस्य तथा जिल्ला तहका सबै नेताहरुलाई आआफ्नो चुनावी क्षेत्र निर्धारण गरेर प्रचार प्रसारमा खटाइएको संयोजक प्रधानले बताउनुभयो । त्यस्तै पार्टीले चुनावी गतिविधि अन्तर्गत पथरी सनिश्चरे नगरपालिकामा चुनावी भेला सम्पन्न गरी प्रथम चरणको घरदैलो अभियानसमेत संचालन गरिसकेको छ ।

उता बेलबारी नगरपालिकामा प्रचारका क्रममा चुनावी भेला, सभा, छलफल अन्तरक्रियाका साथै रोड सो तथा घरदैलो अभियान जारी राखेको छ । नयाँ शक्तिले जिल्लाको एक मात्र विराटनगर महानगरपालिकामा समेत चुनावी भेला तथा घरदैलो अभियान सुरु गरेको छ । पार्टीले महानगरको कञ्चनबारी, मिर्चोरिया, सुनवर्सीलगायतका स्थानहरुमा प्रचार अभियानस्वरुप चुनावी भेला तथा अन्तरक्रिया सम्पन्न गरेको नयाँ शक्तिका विराटनगर महानगरका उत्प्रेरक भरत दाहालले जानकारी दिनुभयो ।

जिल्लाले चुनावी अभियानलाई चुस्त र व्यवस्थित बनाउनको लागि पशुपति नेपालको संयोजकत्वमा १ सय ५१ सदस्यीय चुनावी प्रचार समिति निर्माण गरेको छ भने जगत बहादुर थापाको संयोजकत्वमा स्थानीय घोषणापत्र मस्यौदा लेखन समितिसमेत निर्माण गरी चुनावी अभियान संचालन गरेको जिल्ला संयोजक दाहालले जानकारी दिनुभएको छ ।