रुपन्देहीमा नयाँ शक्ति सहित ७ दलको मोर्चा गठन

२१ जेठ २०७४

बुटवल । रुपन्देहीमा स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमसहितका सात दल र केही स्वतन्त्र समूहसहितको ‘संयुक्त लोकतान्त्रिक मोर्चा’ गठन भएको छ । मोर्चामा नयाँ शक्ति पार्टी, नेपाल, संघीय समाजवादी फोरम नेपाल, अखण्ड पार्टी नेपाल, नेकपा (माले), नेकपा संयुक्त, राष्ट्रिय जनता पार्टी, जनमोर्चा नेपाल, नागरिक परिचालन अभियान र केही स्वतन्त्र व्यक्तिहरु रहेका छन् ।

मोर्चाले बुटवल उपमहानगरपालिकाको निर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ । निर्वाचनका लागि ३१ सदस्यीय संयुक्त सचिवालय गठन गरिएको मोर्चाले जनाएको छ । जसमा वामदेव क्षेत्री संयोजक, बुद्धिमान थापा सचिव र सदस्यहरुमा कमल पोखरेल, पार्वती खड्का, भरत पराजुली, पुरन के.सी., बाबुराम पोखरेल, निर्दोष अली, गुप्तबहादुर के.सी., अशोक वर्मा, कृष्णबहादुर गुरुङ, चित्रबहादुर थापा, योगराज भण्डारी, पुनम लिगल, श्यामकली आचार्य, राजेन्द्रकुमार अग्रहरी, शेरबहादुर गौतम, ज्ञानेन्द्र थापा, पंकज राई, कमल खनाल, लेखबहादुर कार्की, अनिता अधिकारी, गंगाबहादुर लगायत रहेका छन् ।

आर्थिक विकास, समृद्धि र सुशासनका लागि जनताले भरपर्दो वैकल्पिक शक्ति खोजेकाले संयुक्त मोर्चा गठन गरिएको र भविष्यमा सहकार्यलाई निरन्तरता दिने नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय कार्यकारी सदस्य वामदेव क्षेत्रीले जानकारी दिनुभयो । मोर्चाले साझा उम्मेदवार र चुनावी प्रतिवद्धतापत्र केही दिनमै सार्वजनिक गर्ने जनाएको छ । मोर्चा गठनका लागि आयोजित वैठकमा नयाँ शक्ति पार्टीका निर्दोष अली, नेकपा मालेका पुरन के.सी., नेपाल अखण्ड पार्टीका गुप्तबहादुर केसी, संघीय समाजवादी फोरम नेपालका अशोक वर्मा, नेकपा संयुक्तका कृष्णबहादुर गुरुङ, जनमोर्चा नेपालका चित्रबहादुर थापा, राष्ट्रिय जनता पार्टीका राजेन्द्रकुमार अग्रहरी, नागरिक परिचालन अभियानका योगराज भण्डारी तथा स्वतन्त्र व्यक्तित्वहरु बुद्धिमान थापा र शेरबहादुर गौतमको उपस्थिति रहेको थियो ।