झापामा उम्मेदवार अगाडि सार्दै नयाँ शक्ति

२२ जेठ, २०७४



बिर्तामोड – नयाँ शक्ति पार्टीले झापा जिल्लामा चुनावी प्रचार सुरु गरेको छ । दमक नगरपालिकामा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले संयुक्त रुप्मा उम्मेदवारको टुंगो लगाएका छन् भने अन्यत्र उम्मेदवारी टुंगिन नसकेको नयाँ शक्तिका जिल्ला संयोजक कुमार बुढाथोकीले जानकारी दिनुभएको छ ।

उहाँले संघीय समाजवादी फोरमले चुनावी एकताका लागि गरिएको केन्द्रीय सहमति विपरित अन्य पार्टीहरुसँग चुनावी सहकार्य गरेकाले नयाँ शक्तिले आफ्नै ढंगले चुनावी अभियान संचालन गर्न लागेको बताउनुभयो । यद्यपि अन्तिम समयसम्म पनि समाजवादी फोरमसँग उम्मेदवार चयनको विषयमा खुल्ला रहने उहाँले बताउनु भएको छ ।

नयाँ शक्तिले यहाँस्थित केही नगर तथा गाउँपालिकाहरुमा चुनावी भेला र छलफललाई भने जारी राखेको संयोजक बुढाथोकीले बताउनुभयो । जसक्रममा अर्जुनधारा नगरपालिकामा घरदैलोसहितको चुनावी अभियान जारी राखेको छ । अर्जुनधारामा नयाँ शक्तिले देवकला प्रसाईंलाई प्रमुखमा र श्याम घिमिरेलाई उपप्रमुख पदमा अगाडि सारेको छ ।

सोही नगरपालिकाको वडा अध्यक्षहरु मध्ये वडा नं. २ मा गोविन्द प्रधान, ३ मा बुद्ध बराइली, ४ मा कोशी राई, ५ मा देव कुमारी चौधरी, ७ मा देवेन्द्र मैनाली, ८ मा प्रेम प्रसाद लुईंटेल र वडा नं. ९ मा हरिप्रकाश घिमिरेलाई अगाडि सारिएको संयोजक बुढाथोकीले बताउनुभयो ।

त्यसैगरी नयाँ शक्तिले बुद्धशान्ति गाउँपालिकाको उपाध्यक्षमा दिब्या साम्पाङ राईलाई उम्मेदवार बनाउने घोषणा गरेको छ भने सोही गाउँपालिकाको वडा नं. ४ को अध्यक्षमा वीर बहादुर बस्नेत र वडा नं. ६ मा कमल भट्टराईलाई उठाउने निर्णय गरेको छ ।

गौरादह नगरपालिकाको वडा नं. ३ को अध्यक्षमा धर्म गुरागाईंलाई उम्मेदवार बनाएको पार्टीले भद्रपुर नगरपालिका उपमेयरमा पिंकी कामतीलाई अगाडि सारेको छ भने सोही नगरपालिकाको ५ नं. वडामा मोहम्मद कलिमले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

त्यसैगरी पार्टीले मेचीनगर नगरपालिकामा पनिता ढकाललाई प्रमुख र कान्छा हुमागाईंलाई उपप्रमुख पदमा अगाडि सारेको छ । मेचीनगर नगरपालिकाका केही वडाहरुमा नयाँ शक्तिले उम्मेदवार घोषणा गरिसकेको छ । जस क्रममा वडा नं. ६ मा एस पी लुईंटेल, ९ मा राजन खड्का र ७ मा कृष्ण कट्टेललाई अगाडि सारिएको छ ।

नयाँ शक्तिले त्यस बाहेकका कतिपय नगरपालिका तथा गाउँपालिकाहरुमा भने स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भएको छ । जस क्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख र उपप्रमुख पदका स्वतन्त्र उम्मेदवार हरि गौतम एवं लक्ष्मी राजवंशीलाई सहयोग गर्ने बताएको छ । उहाँहरुलाई देशभक्त गणतान्त्रिक मोर्चालेसमेत समर्थन गर्ने निर्णय गरेको जिल्ला संयोजक बुढाथोकीले बताउनुभयो ।

झापामा दमक, गौरादह, शिवसताक्षी, कन्काई, बिर्तामोड, अर्जुनधारा, मेचीनगर एवं भद्रपुरसहित ८ नगरपालिका र बुद्ध शान्ति, कचनकवल, हल्दिवारी, बारणसी, झापा, गौरीगञ्ज र कमलसहित ७ गाउँपालिका गरी जम्मा १५ कूल स्थानीय तह इकाई रहेका छन् ।