आफ्ना उम्मेदवारमाथि आक्रमण भएपछि निर्वाचन आयोगलाई नयाँ शक्तिको ध्यानाकर्षणपत्र

२३ जेठ २०७४

काठमाडौं । दाङको राप्ती गाउँपालिकाका अध्यक्षका उम्मेदवारमाथि आक्रमण भएपछि नयाँ शक्ति पार्टी, नेपालले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । राप्ती गाउँपालिकाका अध्यक्षका उम्मेदवार नन्दकुमार चौधरी र पार्टीका केन्द्रीय परिषद् सदस्य तथा राप्ती गाउँपालिका संयोजक होमप्रसाद शर्मामाथि सोमबार राती माओवादी केन्द्रका कार्यकर्ताहरुद्वारा सांघातिक आक्रमण भएको थियो । स्थानीय तहको निर्वाचन प्रचारप्रसारका क्रममा राप्ती गाउँपालिका-३ कट्हामा चौधरी र शर्मामाथि आक्रमण भएको थियो ।

आफ्ना उम्मेदवारमाथि आक्रमण र ज्यान मार्ने धम्की आएपछि यस्तो अवस्थामा चुनाव प्रचार गर्न सक्ने अवस्था नभएको तथा स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको कुनै सम्भावना नदेखिएको भन्दै नयाँ शक्तिले निर्वाचन आयोगलाई ध्यानाकर्षणपत्र लेखेको हो । घटनाको छानविन गरी आक्रमणकारीहरुलाई कारवाहीको दायरामा ल्याई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातावरण सिर्जना गर्न नयाँ शक्तिले आयोगसमक्ष माग गरेको छ ।

नयाँ शक्तिले निर्वाचन आयोगलाई लेखेको ध्यानाकर्षणपत्रः

श्री निर्वाचन आयोग

बहादुरभवन, काठमाडौं ।

विषयः ध्यानाकर्षण बारे ।

उपरोक्त सम्वन्धमा कुनै पनि निर्वाचन त्यसमा पनि नयाँ संविधान वमोजिमको स्थानीय तहको निर्वाचन लोकतन्त्रको आधार एवं मेरुदण्ड भएकाले कुनै पनि मूल्यमा भयरहित, शान्तिपूर्ण, निष्पक्ष एवं धाँधलीरहित तवरले सम्पन्न होस भन्ने चाहना राखेका कारणले हाम्रो पार्टी निर्वाचन चिन्हवाट वन्चित हुँदा पनि निर्वाचनमा सामेल भयो । पहिलो चरणको निर्वाचनमा हामीले भौतिक आक्रमण र धम्कीहरुको सामना गर्न पर्यो । तै पनि हामी कुनै पर्वाह नगरी चुनावी मैदानमा डट्यौं । त्यही उच्च मनोबलका साथ दोश्रो चरणको निर्वाचनमा पनि सहभागी हुने जानकारी गराउन चाहन्छौं ।

निर्वाचन भयरहित, स्वच्छ, निष्पक्ष र धाँधलीरहित वनाउने कुरामा पुराना राजनैतिक दलहरुको कुनै चाहना देखिएन । साम, दाम, दण्ड, भेद प्रयोग गरेर जसरी पनि निर्वाचन जित्ने ध्येयले काम गरेको पाईयो । सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै नयाँ शक्ति पार्टी माथि विभिन्न प्रकारका घेरावन्दी, धम्की तथा भौतिक आक्रमण भएकोप्रति निर्वाचन आयोगको विशेष ध्यानाकर्षण गराउन चाहन्छौं ।

दोश्रो चरणको निर्वाचनको तयारीको शिलशिलामा पनि देशैभरी हाम्रो पार्टीका उम्मेदवार नेता कार्यकर्ताहरु उपर आक्रमण, धम्की र घेरावन्दीका घटनाहरु निरन्तर भइरहेका छन् । यसै क्रममा प्रदेश नं.५, दाङ जिल्लाको राप्ती गाउँपालिकामा नयाँ शक्ति पार्टीको प्रचार टोली मतदाताहरुको घरदैलोमा गइरहेका वखत सत्तारुढ दल माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुको जत्था आई अनायासै आक्रमण गरी आतंक फैलाउने काम गरेका छन् भने अन्धाधुन्द कुटपिट गरी नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय कार्यकारी सदस्य तथा स्थानीय लोकप्रिय नेता नन्द चौधरी समेतलाई मरणाशन्न अवस्थामा पुर्याएका छन् । उम्मेदवार तथा प्रचारटोली एवं मतदाताहरुमाथि समेत नयाँ शक्ति पार्टीमा लागेमा ज्यान मार्ने धम्की दिएका छन् । यस्तो अवस्थामा चुनाव प्रचार गर्न सक्ने अवस्था नै छैन भने स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको कुनै सम्भावना देखिएको छैन ।

तसर्थ उक्त घटनाको छानविन गरी आक्रमणकारीहरुलाई कारवाहीको दायरामा ल्याई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातावरण सिर्जना गर्न सम्वद्ध पक्षहरुको विशेष ध्यानाकर्षण गराउँदै निर्वाचन आयोग समक्ष विशेष आग्रह गर्दछौं ।

 

...........................
खिमलाल देवकोटा
प्रवक्ता