इलाममा नयाँ शक्तिको निर्वाचनलक्षित कार्यक्रम

पाँचथरमा संगठन निर्माण गर्दै नयाँ शक्ति
२३ जेठ, २०७४



इलाम – नयाँ शक्ति पार्टीले इलामका स्थानीय तहहरुमा चुनाव प्रचार अभियान सुरु गरेको । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिंदै जाँदा नयाँ शक्तिले जिल्लास्थित सबै नगरपालिका तथा गाउँपालिकाहरुमा संघीय समाजवादी फोरमसँगको संयुक्त चुनावी घरदैलो अभियानलाई जारी राखेको हो ।

पार्टीले इलामको चुलाचुली गाउँपालिका र सूर्योदय नगरपालिकामा भने घरदैलो अभियान विशेष ढंगले संचालन गरिरहेको छ । नयाँ शक्तिले चुनावी प्रचारप्रसारलाई प्रभावकारी र व्यवस्थित बनाउन भन्दै विभिन्न जिल्लास्तरीय समितिहरुसमेत निर्माण गरेको छ ।

पार्टीले मीनसु जबेगूको नेतृत्वमा ७ सदस्यीय जिल्ला स्तरीय चुनावी प्रचार समिति, पार्टीको जिल्ला सहसंयोजक लेखनाथ खनालको नेतृत्वमा १३ सदस्यीय निर्वाचन परिचालन समिति, सुरेन्द्र सुब्बाको नेतृत्वमा प्रकाशन समिति एवं जिल्ला संयोजक डिल्ली चेम्जोङ सहसंयोजक रहनेगरी संघीय समाजवादी फोरमका देवेन्द्र राईको संयोजकत्वमा दुई पार्टीको संयुक्त निर्वाचन परिचालन समिति निर्माण गरेको नयाँ शक्ति पार्टीका इलाम जिल्ला संयोजक डिल्ली चेम्जोङले बताउनुभयो ।

पार्टीले जिल्लास्थित केही स्थानीय तहमा आफ्नो उम्मेदवार समेत खडा गरिसकेको संयोजक चेम्जोङले जानकारी दिनुभएको छ । उहाँका अनुसार पार्टीले चुलचुली गाउँपालिका प्रमुखमा कुमार विकलाई प्रस्ताव गरेको छ भने फापफोकथुम गाँपालिकामा सुरेन्द्र सुब्बालाई अगाडि सारिएको छ । उता रोङ गाउँपालिकामा भने केशव लुईंटेल अग्रपंक्तिमा रहेका छन् ।

त्यसैगरी देउमाई नगरपालिकामा नयाँ शक्तिले प्रेम राईलाई अगाडि सारेको छ । यी बाहेक अन्य स्थानहरुमा उम्मेदवार टुंगोमा पुर्याउनको लागि नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमकाबिच संयुक्त चुनावी कार्यदलले वार्ता र छलफललाई निरन्तर जारी राखेको संयोजक चेम्जोङले बताउनुभयो ।

इलाम जिल्लामा इलाम, सूर्योदय, माई, देउमाईसहित ४ नगरपालिका र फापफोकथुम, माङ्सेबुङ, चुलाचुली, रोङ, माईजोगमाई तथा सन्दुकपुरसहित ६ गाउँपालिका गरी जम्मा १० स्थानीय तह इकाईहरु रहेका छन् ।

पाँचथरमा संगठन निर्माण गर्दै नयाँ शक्ति

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले पाँचथरका केही स्थानीय तहहरुमा चुनावी अभियानस्वरुप संयुक्त घरदैलो सुरु गरेका छन् । जिल्लास्थित फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका एवं तुम्बेबा गाउँपालिकामा घरदैलो अभियान सुरु भएको हो ।

अहिलेको स्थानीय तह निर्वाचनलाई संगठन निर्माणको अवसरको रुपमा लिएको नयाँ शक्तिले चुनावकै अवसरमा गाउँगाउँमा संगठन विस्तार अभियान सुरु गरिएको यहाँका जिल्ला सहसंयोजक नरेश चाम्लिङले बताउनुभयो ।

नयाँ शक्तिले यहाँस्थित फालेलुङ गाउँपालिका अध्यक्षमा जनम राई र तुम्बेबा गाउँपालिकामा सूर्य सम्बाहाम्फेलाई अगाडि सारेको छ । पार्टीले फालुलुङमा जनम राईकै संयोजकत्वमा १५ सदस्यीय गाउँपालिका कमिटी निर्माण गरेको छ भने अन्य गाउँपालिका तथा फिदिम नगरपालिकाका विभिन्न वडाहरुमा संगठन निर्माण कार्य जारी रहेको सहसंयोजक चाम्लिङले बताउनुभएको छ ।