फुङ्लिङ (ताप्लेजुङ) मा नयाँ शक्तिको घरदैलो तीव्र

२४ जेठ, २०७४



ताप्लेजुङ – दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा नयाँ शक्ति पार्टीले ताप्लेजुङ जिल्लाका स्थानीय तहहरुमा घरदैलो अभियानलाई तीव्र बनाएको छ । पार्टीले संघीय समाजवादी फोरमसँग चुनावी एकता गरी एकल चुनाव चिन्हमा निर्वाचनमा भाग लिंदैछ ।

मंगलबार ताप्लेजुङस्थित फुङ्लिङ नगरपालिकाको वडा नं. ९ स्थित हाङ्देवा, देउराली, सुकेटारलगायतका क्षेत्रमा दुई पार्टीले संयुक्त घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । घरदैलो कार्यक्रममा नयाँ शक्ति पार्टीका ताप्लेजुङ जिल्ला संयोजक सन्चपाल मादेन लिम्बुसहित नयाँ शक्तिका तर्फबाट फुङ्लिङ नगरपालिकाका उपप्रमुख पदका उम्मेदवार कृष्ण बहादुर शंखर तथा वडा अध्यक्षका उम्मेदवार छत्र बहादुर गुरुङलगायत वडा सदस्यका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।

नयाँ शक्तिले यहाँको एकमात्र नगरपालिका फुङ्लिङ नगरपालिकालाई विषेश जोडका साथ चुनावी प्रचारलाई तीव्र बनाएको छ । केही दिन अघि विशाल र्याली सहित घरदैलो कार्यक्रमको शुभारम्भ गरेको नयाँ शक्तिले बजार क्षेत्रका वडा नं. २, ४, ५, ६, ७ र ८ मा सयौंको सहभागिताका साथ चुनावी र्याली सम्पन्न गरेको छ ।



त्यसैगरी पार्टीले नगरका ९ वटा वडाहरुमा चुनावी भेला सम्पन्न गर्दै वडा तथा टोल कमिटीहरु निर्माण गरी चुनावी प्रचार गरिरहेको जिल्ला संयोजक सन्चपाल मादेन लिम्बुले जानकारी दिनुभयो ।

नयाँ शक्तिले फुङ्लिङ नगरपालिकामा उपप्रमुखमा उम्मेदवारी प्रस्तुत गरेको छ भने यहाँका अन्य केही वडाहरुमा समेत उम्मेदवार प्रस्ताव गरिसकेको छ । नयाँ शक्तिको विशेष पकड क्षेत्रका रुपमा रहेको ९ नम्बर वडामा वडा अध्यक्षसहित पूरै प्यानलमा उम्मेदवारी दिएको छ भने अन्य वडाहरुमा पनि उम्मेदवारीसहित विशेष घरदैलो जारी राखेको छ ।

वडा नं. २ को अध्यक्षमा दूर्गा न्यौपानेलाई अगाडि सारेको छ भने ३ नं. मा हरि प्रसाद बराललाई अगाडि सारेको छ । संघीय समाजवादी फोरमसँगको चुनावी तालमेलका कारण अन्य वडाहरुमा सहमतिमा उम्मेदवार टुंग्याउने पार्टीले जनाएको छ ।

नयाँ शक्तिले नगरपालिकाका अलवा यहाँस्थित केही गाउँपालिकासहित वडाहरुमा उम्मेदवार टुंगो लगाएको छ । जस क्रममा फोक्ताङलुङ गाउँपालिका प्रमुखमा श्री लिङखिन र उपप्रमुखमा साबित्री विष्ट शेर्पालाई अगाडि सारेको छ भने मिक्वाखोला गाउँपालिकाको वडा नं. ५ को अध्यक्षमा डण्डु शेर्पालाई अगाडि सारेको नयाँ शक्तिले जनाएको छ ।

त्यस्तै अन्य गाउँपालिका तथा वडाहरुमा संघीय समाजवादीसँगको छलफल र अन्य दलहरुसँगको चुनावी तालमेलको संभावनाका कारण उम्मेदवार चयन गर्ने क्रम जारी रहेको जिल्ला संयोजक सन्चपाल लिम्बुले बताउनुभएको छ ।

भारत र चीनसँग सिमाना जोडिएको सुदूर पूर्वको ताप्लेजुङ जिल्लामा एक मात्र फुङलिङ नगरपालिका र ८ गाउँपालिका गरी जम्मा ९ स्थानीय तह इकाईहरु रहेका छन् ।