कतारमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग नयाँ शक्तिको माग

२४ जेठ २०७४

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको प्रवास प्रादेशिक समितिले विभिन्न मुलकले कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद गरेपछि उत्पन्न हुन सक्ने समस्याको आँकलन गरेर त्यहा कार्यरत नेपाली नागरिकको सुरक्षामा ध्यान दिन नेपाल सरकारसँग माग गरेको छ । प्रवास प्रादेशिक समितिले आज प्रेस विज्ञप्ती जारी गर्दै कतारमा संकट निम्तिएसँगै त्यहाँ रहेका नेपालीहरुले विभिन्न समस्या भोग्नु परेको जानकारी प्राप्त भइरहेको उल्लेख गर्दै आफ्ना नागरिकको सुरक्षामा ध्यान पुर्‍याउन सरकारसँग माग गरेको छ ।

प्रवास प्रादेशिक समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तीमा कतार जाने र बाहिरिने हवाइ उडानहरु सीमित हुँदै जानु, साउदी र कतारको सीमाक्षेत्रका बहुराष्ट्रिय कम्पनीमा कार्यरत नेपालीहरु अलपत्र पर्नु, खाद्यान्न एवम् उपभोग्य वस्तु किन्न लामो लाइनमा बस्नुपर्ने जस्ता समस्या सिर्जना हुन थालेको बताइएको छ ।

‘खासगरी कतारको समृद्धिमा नेपालीहरुको श्रमको ठूलो योगदान रहेको सन्दर्भमा नेपाली समुदायको आवागमन, कार्यस्थल र वासस्थानको पूर्ण सुरक्षा तथा उपभोग्य वस्तुहरुको सुनिश्चितता गरिनुपर्ने कुराको माग गर्दछ’, विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा समस्या समाधानका लागि नेपाल सरकारसँग कतार सरकार र संलग्न सबै पक्षसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न माग गरिएको छ ।