ताप्लेजुङको कृषि र पर्यटन विकासमा जोड

२५ जेठ, २०७४



ताप्लेजुङ – ताप्लेजुङ जिल्लास्थित एक मात्र नगरपालिका फुङलिङ नगरपालिकामा नयाँ शक्तिले उपमेयर पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ । संघीय समाजवादी फोरमसँग चुनावी एकता गर्दै स्थानीय तह निर्वाचनमा होमिएको नयाँ शक्तिले फुङलिङ नगरपालिकालाई जित्ने मध्येको एउटा क्षेत्रको रुपमा हेरेको छ र सोही अनुसार चुनावी गतिविधिलाई जारी राखेको छ ।

फुङलिङमा नयाँ शक्तिको तर्फबाट उपमेयर पदमा उम्मेदवारी प्रस्ताव गरिएका कृष्ण बहादुर शंखर आफू सामाजिक क्षेत्रमा पनि क्रियाशील र यो क्षेत्रको भौतिक पूर्वाधार, कृषि एवं पर्यटकीय क्षेत्रको विकासमा सशक्त भूमिका निर्वाह गर्न सक्ने भएकाले उम्मेदवार दिन इच्छुक रहेको बताउनुहुन्छ ।

उपमेयर पदका दाबेदार शंखरले आफू निर्वाचित भए फुङलिङ नगरपालिकाको कृषि र पर्यटनको विकासमा जोड दिने बताउनुभएको छ । उहाँले बजारका तात्कालीक समस्याहरु समाधान गरी दीर्घकालीन रुपमा यो क्षेत्रलाई कृषि र कृषिजन्य उद्योग तथा उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।

यहाँको मुख्य समस्या भनेको फोहोरमैलाको उचित व्यवस्थापन नहुनु, पर्याप्त र उपयुक्त किसिमको ढलनिकास नहुनु, साँघुरा र कच्ची सडकका कारण आवागमनमा समस्या, बजार क्षेत्रमा सवारी साधन पार्किङ्गको समस्या, खानेपानीको उचित व्यवस्थापन, सार्वजनिक सौचालयको अभावलगायत रहेका छन् ।

यी समस्याहरु कसरी हल हुन्छन् ? उपमेयर पदका दाबेदार शंखर भन्नुहुन्छ – ‘मैले चुनाव जितेको खण्डमा यहाँका यी सबै समस्याको तत्कालीन र दीर्घकालीन समाधान खोज्नेछु । सडक निर्माण गर्दा ढलनिकासलाई व्यवस्थित गर्ने, कच्ची सडकहरुलाई स्तरोन्नति गरी कालोपत्र गर्ने, धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने, कृषि उत्पादनलाई आधुनिकीकरण गर्दै बजारको उचित व्यवस्थापन गर्ने, खानेपानीको व्यवस्थापन उचित किसिमले गर्ने, सिटी हलको स्तरोन्नति गरी अत्याधुनिक सुविधासम्पन्न बनाउने, बसपार्कको स्तरोन्नति गर्नेजस्ता कामहरु तत्काल सुरु गर्नेछु । साथै अन्य समस्याहरु समाधानका लागि दीर्घकालीन योजना बनाएर काम अघि बढाउनेछु ।’

उहाँले यस क्षेत्रमा पर्ने धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धनका लागि ती क्षेत्रहरुमा पर्याप्त मात्रामा भौतिक पूर्वाधार निर्माण गरी यहाँको सम्पदाको संरक्षणमा जोड दिने बताउनुभयो । त्यस्तै धार्मिक पर्यटनको गन्तब्य पाथीभरा मन्दिरलाई व्यवस्थित बनाउने र मन्दिर संरक्षणका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने योजना रहेको उहाँको भनाइ थियो ।