कैलालीको टीकापुर–७ मा नयाँ शक्तिका सबै उम्मेदवार महिला

२९ जेठ २०७४

टिकापुर । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल कैलालीले टीकापुर नगरपालिकाको ७ नं वडामा सबै उम्मेदवारहरु महिला उठाउने निर्णय गरेको छ ।

टीकापुर नगरपालिकाको ७ नं. वडालाई महिलामैत्री र नमुना वडा बनाउने उद्देश्यले सबै पदमा महिला उम्मेदवार मात्र उठाउने निर्णय गरेको नयाँ शक्ति पार्टी, नेपालको ७ नम्बर प्रदेशका संयोजक लिला भण्डारीले जानकारी दिनुभयो ।

उहाँले महिला नेता/प्रमुख बन्न सक्षम भए पनि नेतृत्व तहमा पुग्न नसक्नुको मुख्य कारण पुरुषवादी सोंच र चिन्तन भएको र पहिलो निर्वाचनमा महिलाहरुलाई उपप्रमुखमै सीमित बनाइएको बताउँदै भन्नुभयो – ‘अब त्यो सोंच तोड्नुपर्छ भन्दै हामीले टीकापुरको ७ नंं. वडामा महिलाहरु मात्र उम्मेदवार घोषणा गरेका हौं ।’

नयाँ शक्ति पार्टी कैलालीले टीकापुर–७ मा वडाअध्यक्षमा कमला शाह, सदस्यहरुमा बुना चौधरी, कविता वि.क., सविता चौधरी र सुस्मिता चौधरीको उम्मेद्वारी घोषणा गरेको छ । वडाका सबै पदहरुमा महिलालाई मात्र उम्मेदवार बनाउनेमा नयाँ शक्ति पार्टी, नेपाल पहिलो पार्टी बनेको छ ।